श्रावण १६ गते, शुक्रबार
पोखरा ।। कोदो एक प्रकारको परम्परागत अन्नबाली हो । याे पोषणयुक्त मोटा अन्नको समूहमा पर्छ। नेपालकाे पहाडी तथा सुक्खा भू-भागहरूमा धेरै समयदेखि याे खेती हुँदै आइरहेकाे छ ।
विशेषगरी गण्डकी प्रदेशको पर्वतीय जिल्लाहरूमा कोदो प्रमुख खाद्य अन्नमध्येको एक हो। कोदोमा पाइने उच्च फाइबर, प्रोटिन, आइरन, क्याल्सियम आदिका कारणले मधुमेह, पाचन समस्या र कुपोषण नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विज्ञहरुले समेत बताउने गरेका छन् ।
“कोदोजन्य परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नाराका आज राष्ट्रिय कोदो दिवस नेपालभर विभिन्न कार्यक्रम सहित मनाइएको छ।
सरकारले यसै वर्ष असार २३ गते प्रतेक साउन महिनाकाे १६ गतेलाई राष्ट्रिय काेदाे दिवसका रुपमा मनाउने निर्णय गरेकाे थियाे ।
सोही निर्णय अनुरुप प्रत्येक वर्षको साउन १६ गते देशव्यापी रूपमा राष्ट्रिय कोदो दिवस मनाउन सुरु भएको हो।
यसै अवसरमा पाेखरा महानगरपालिकाले समेत “प्रथम राष्ट्रिय कोदो दिवस-२०८२” को आयाेजना गरेकाे थियाे ।

पोखरा सभागृहमा आज कोदोजन्य बालिका परिकारहरूको प्रदर्शनी तथा पोखरामा कोदो र कागुनो लगायतका कोदोजन्य बाली उत्पादन गर्ने कृषकलाई सम्मान तथा प्रोत्साहन प्रदान समेत गरिएको थियो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा अन्तर्गत कृषि विकास शाखाको आयोजनामा उक्त कार्यक्रम भएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिएका छन् ।

परम्परागत बालीको संरक्षण, कोदोजन्य पोषिलो अन्नको प्रवर्द्धन, कृषकहरूको आम्दानी वृद्धि, कोदो खेती प्रति कृषकहरूको आकर्षण वृद्धि र स्थानीय खाद्य प्रणाली सुदृढ तथा खाद्य सुरक्षालाई टेवा प्रदान गर्ने मुख्य उद्देश्यले कोदो दिवसमा विशेष कार्यक्रमको आयोजना गरिएको कडरियाले बताए ।
त्यस्तै उनले ढिंडो, रोटी, पेयापदार्थ सहित विभिन्न औद्योगिक परिकार बनाउन सकिने कोदो बहुउपयोगी पौष्टिक आहार भएकाले यो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरिएको बताए ।
उनका अनुसार पोखरा महानगरपालिकाभित्र ३ हजार क्षेत्रफलमा कोदो खेती लगाईदै आएको र त्यहाँबाट वर्षेनी ३ हजार ५ सय टन कोदो उत्पादन हुँदै आएको बताए ।
पछिल्लो समय पोखरामा कोदोको माग उच्च रहेतापनि उत्पादन कम हुँदा बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको समेत उनले बताए ।
यस्तै उक्त कार्यक्रममा महानगरपालिकामा धेरै कोदो बाली लगाउने चार जना कृषकलाई प्रोत्सानस्वरुप पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद पुरस्कार सहित सम्मान गरेका थिए ।
सम्मानित हुनेहरुमा पोखरा २१ का कर्ण बहादुर थापा, २८ का अम्बिका भण्डारी, २३ का सतेन गुरुङ र १६ का बबिता गुरुङ रहेका थिए ।सम्मानित हुनेहरुमा ८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-१६ की बबिता गुरुङ, करिब ८ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२८ की अम्बिका भण्डारी, १० रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२३ का सचेन गुरुङ र १२ रोपनी क्षेत्रफलमा कोदो खेती गर्ने पोखरा-२१ का कर्ण बहादुर थापा रहेका छन् ।
यस्तै सो कार्यक्रममा कोदो बालीका जातहरु, कोदोका विभिन्न परिकारहरु समेत प्रदर्शन गरिएको थियो । कार्यक्रममा कोदो बाली तथा जातहरुको प्रदर्शन गर्ने चारवटा कृषक समूह तथा सहकारीलाई समेत सम्मान गरिएको थियो ।









