पोखरा -५ बाट लागू औषधसहित दुई युवा पक्राउ
  • प्रमुख खबर

श्रावण -१८ गते, आइतबार
पोखरा ।। कास्की प्रहरीले लागू औषधसहित दुई जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं. ११ का २४ वर्षीय सुरज सहानी र म्याग्दीको घताङ गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल पोखरा-५ मा बस्दै आएका ३२ वर्षीय सुशील परियार रहेका छन्।

बैदाम प्रहरी कार्यालयबाट खटिएको टोलीले पोखरा- ५, प्रस्याङस्थित उनीहरू बस्दै आएको कोठाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एंव प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतका अनुसार उनीहरूको कोठाबाट डाइजेपाम ४३ एम्पुल, फेनेरगन ४३ एम्पुल र आइ.पी.पी.एल. लेखिएको लागुऔषध ४३ एम्पुल बरामद भएको छ। साथै दुई थान मोबाइल फोन पनि बरामद भएको उनले बताए।

बरामद लागूऔषध कोठामा लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीले शनिबार बिहान साढे ११ बजे उक्त स्थानमा छापा मारेको थियो।

छापा मार्ने क्रममा ती दुवै युवा पक्राउ पार्न सफल भएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
उनका अनुसार जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्