देशभर जनै पूर्णिमा, रक्षा बन्धन पर्व मनाउदै
  • प्रमुख खबर

आज श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि देशभर जनै पूर्णिमा, रक्षा बन्धन पर्व मनाउदै ।

जनै पूर्णिमा :

श्रावण शुक्ल पूर्णिमाको पवित्र दिनलाई जनै पूर्णिमाको रुपमा मनाइन्छ, जसलाई वैदिक परम्परामा ऋषितर्पणी पनि भनिन्छ। यो दिन आत्म–शुद्धि, धार्मिक अनुशासन र पूर्वजप्रति कृतज्ञता व्यक्त गर्ने अवसर हो। ब्राह्मण, क्षत्रिय वर्गका मानिसहरूले पुरोहितबाट मन्त्रसहित नयाँ जनै फेरेर देवऋण, पितृऋण र ऋषिऋणको स्मरण गर्छन्। जनैको तीन सूत्र सत्त्व, रज र तम गुणको सन्तुलनका प्रतीक हुन् भने पाँच गाँठा ब्रह्म, धर्म, अर्थ, काम र मोक्षको मार्गलाई जनाउँछन्। शरीरका सुषुम्ना, इडा र पिङ्गला नाडीमा ऊर्जा सन्तुलन कायम राख्ने स्थानमा जनै धारण गर्ने परम्परा केवल धार्मिक नभई शारीरिक–आध्यात्मिक स्वास्थ्यसँग पनि जोडिएको छ।

रक्षा बन्धन :

दिदी–बहिनीले दाजुभाइको दाहिने हातमा रक्षासूत्र बाँध्ने र उसको दीर्घायु, सुरक्षा र समृद्धिको कामना गर्ने सांस्कृतिक पर्वलाई आजकाल रक्षाबन्धनको रुपमा जनाइन्छ। यस अवसरमा भाइले पनि बहिनीप्रति सम्मान, सुरक्षा र सहयोगको प्रतिज्ञा गर्दछ। वास्तुशास्त्रको दृष्टिमा, दाहिने हात (कर्ममार्ग)मा बाँधिएको सूत्रले शुभ ऊर्जालाई सक्रिय र अशुभ ऊर्जालाई निष्क्रिय बनाउने विश्वास छ। यसरी रक्षाबन्धनले पारिवारिक सम्बन्धलाई मजबुत पार्नुका साथै आध्यात्मिक ऊर्जा संरक्षणको सन्देश दिन्छ।

क्वाटी :

नेवारी समुदायमा मनाइने, नौथरी अन्नबाट बनेको तातो झोल पदार्थको पौष्टिक परिकार “क्वाटी” खाने विशेष दिनलाई “क्वाटी पूर्णिमा” भनिन्छ । नेवारी भाषामा “क्वा” भनेको गेडागुडी र “टि” भनेको तातो झोल हो । मस्याङ, केराउ, भटमास, चना, मुँग, मास, गहत, सिमी र बोडी मिसाएर तयार गरिने क्वाटी वर्षायाममा शरीरलाई तातो, शक्तिशाली र रोगप्रतिरोधी बनाउन उपयोगी हुन्छ। यसै दिन भ्यागुताको पूजा गर्ने परम्परा पनि छ, जुन वर्षा र जल–तत्त्वको सम्मानका साथै खेतीपातीको समृद्धिका लागि प्रार्थना स्वरूप गरिएको हो।

यी तीनै पर्व एउटै दिन श्रावण पूर्णिमामा मनाइए पनि, तिनको सांस्कृतिक र धार्मिक उद्देश्य फरक–फरक छन्—जनैपूर्णिमा आत्म–शुद्धि र वैदिक अनुशासनको प्रतीक हो, रक्षाबन्धन पारिवारिक प्रेम र सुरक्षा सम्बन्धको प्रतीक हो, र क्वाँटीपूर्णिमा स्वास्थ्य, पोषण र वातावरणीय सन्तुलनको प्रतीक रूपमा लिने गरिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्