पोखरामा ‘पोखरा डिजाइनर्स फेसन वीक–२०२५’ हुने
  • सन्तोष पराजुली

पोखरा//

बुटिक एसोसिएसन पोखराले यही साउन ३० गते ‘पोखरा डिजाइनर्स फेसन वीक–२०२५’ आयोजना गर्ने भएको छ। पोखरा इभेन्ट सेन्टर, बुलौदीमा हुने उक्त फेसन वीकमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका डिजाइनरहरूको सिर्जनात्मक कला, नवीनतम फेसन कलेक्शन, र मोडलहरूको र्याम्प वाक प्रस्तुत गरिनेछ।

२०७४ सालमा स्थापित बुटिक एसोसिएसन पोखरा ३५ भन्दा बढी सदस्यहरू रहेको संस्था हो, जसले फेसन डिजाइनमार्फत सिर्जनशीलता र आत्मनिर्भरता प्रवर्द्धन गर्दै आइरहेको छ। एसोसिएसनले फेसन क्षेत्रको उन्नति, नयाँ ट्रेन्डको विकास, बजार विस्तार तथा रोजगारी सिर्जनामा योगदान पुर्‍याउँदै आएको जनाएको छ।

यस वर्षको फेसन वीकमा ‘Cultural, Western & Modern Dress’ को प्रदर्शन हुनेछ। कार्यक्रममा प्रख्यात र प्रतिभाशाली फेसन डिजाइनर, मोडल, फेसन प्रोफाइल, तथा मिडियाको सहभागिता रहनेछ। साथै, चर्चित अभिनेत्री करिश्मा मानन्धर, अञ्जना बराईली, सनिशा भट्टराई, अभिनेता प्रिन्स सिंह, प्रसिद्ध मोडल कृष्णल श्रेष्ठ, पूर्व मिस नेपाल इन्टरनेसनल २०१२ सुभेक्षा खड्का, मिस नेपाल २०१९ मीरा कक्षपती र मिसेस दार्जिलिङ २०२३ प्रेरणा लामाको पनि विशेष उपस्थिति रहनेछ जसले कार्यक्रममा थप आकर्षण र चमक थप्नेछ।

डिजाइनरको सिर्जनशीलता प्रदर्शन, फेसन उद्योगको प्रवर्द्धन, नेटवर्किङ, बजार पहुँच विस्तार, नयाँ ट्रेन्ड निर्धारण, सांस्कृतिक प्रतिनिधित्व, तथा व्यावसायिक वृद्धि गर्ने आयोजकको मुख्य उद्देश्य रहेको छ।

आयोजकले फेसन उद्योगलाई पर्यटनसँग पनि जोड्दै पोखरालाई फेसन हबको रूपमा स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्