श्रावण ३१ गते, शनिबार
पोखरा ।।
पोखराको बाटुलेचौरमा शनिबार(आज)२६औँ राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुँदैछ।
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर शुक्ला साहित्य प्रतिष्ठानले ऐतिहासिक बाटुलेचौर मैदानमा यो प्रतियोगिता आयोजना गरेको हो।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय विन्दु कुमार थापाबाट केहीबेरमा हुने प्रतिष्ठानकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिएकी छन्।
उनका अनुसार यस वर्ष प्रतियोगितामा १६ वटा भजन टोली सहभागी छन्। सहभागीमध्ये तनहुँको महेश्वर खनाल भजन समूह, धादिङको भद्रकाली खैंजडी भजन समूह, स्याङ्जाको हरिहर भजन कीर्तन समूहसहित कास्कीका विभिन्न भजन टोली र विद्यालयका विद्यार्थी टोली रहेको उनले बताइन्।
दर्शकको चापलाई ध्यानमा राख्दै आकर्षक मञ्च निर्माण गरिएको र सजावटमा विशेष ध्यान दिइएको आयोजकले जनाएको छ।

कार्यक्रमलाई आकर्षक बनाउन आमा समूह, टोल विकास संस्था र विभिन्न जातीय–धार्मिक संघसंस्थाका प्रतिनिधिहरू आ–आफ्नै पहिचान झल्किने पोशाकमा उपस्थित भइसकेका छन्।
वि.सं. २०४५ मा जनकवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको प्रतिष्ठानले प्रत्येक वर्ष कृष्ण जन्माष्टमीमा भजन प्रतियोगिता आयोजना गर्दै आएको छ। यसपटक भने सहभागीले कृष्ण भजन मात्र नभई महाभारतलाई आधार बनाएर पनि भजन प्रस्तुत गर्न पाउने व्यवस्था गरिएको छ।
प्रतियोगितामा प्रथम हुने समूहले १ लाख, द्वितीयले ७५ हजार, तृतीयले ५० हजार, सान्त्वनाले २५ हजार तथा प्रत्येक सहभागी टोलीले ५–५ हजारका दरले प्रोत्साहन स्वरूप पुरस्कार प्राप्त गर्ने प्रचार–प्रसार उप-समिति संयोजक संजय थापाले जानकारी दिए।











