भाद्र ११ गते, बुधबार
पोखरा ।। पोखरा महानगरपालिका र चीनको हुआङशान बिच भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बुधबार एक विशेष कार्यक्रमका बीच दुवै शहरका प्रतिनिधिहरूले समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
सो समझदारी पत्रमा हस्ताक्षर गर्दै पोखरा महानगरका धनराज आचार्यले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय गन्तव्य हुआङशान शहर र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा महानगरबीचको भगिनी सम्बन्धले दुवै शहरबीच पर्यटन, संस्कृति, शिक्षा र शहरी विकास जस्ता क्षेत्रमा दीर्घकालीन सहकार्य गर्ने वातावरण तयार गर्ने विश्वास व्यक्त गरेका छन् ।
काठमाण्डौमा आयोजित एक समारोहमा भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धी प्रारम्भिक समझदारी गरिएको हो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, आन्हुई प्रान्तका भाइस गभर्नर सुन योङहाओ, नेपालस्थित चिनियाँ राजदूत चेन सोङ, नेपाल सरकारका सचिव रामप्रसाद घिमिरे, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको उपस्थिति रहेको थियो ।
यस सम्बन्धले पोखरा महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार र पोखरेली पर्यटनको अन्तर्राष्ट्रिय बजारसम्म प्रचार प्रसारमा सहयोग पुर्याउने नगर प्रमुख आचार्यले विश्वास व्यक्त गरे ।
पर्यटकीय राजधानी पोखराको पर्यटन विकास, प्रवर्द्धन र प्रचारप्रसारका यस्ता प्रकारका अन्तर्राष्ट्रिय सम्बन्धले महत्त्वपूर्ण योगदान पुग्ने उनले बताए।
दुई शहरका बिचमा शिक्षा, स्वास्थ्य, उद्योग तथा व्यापार, पर्यटन, संस्कृति र प्रविधिको आदान प्रदानका लागि यस प्रकारको सम्बन्धले उल्लेखनीय भूमिका खेल्ने विश्वास गरिएको छ ।









