ग्रीन पोखरा, क्लिन पोखरा : २ लाखभन्दा बढी बिरुवा रोप्ने लक्ष्य
  • प्रमुख खबर

भाद्र १६, पोखरा ।।
पोखरालाई स्वच्छ र हरित शहर बनाउने उद्देश्यसहित पोखरा महानगरपालिकाले सुरू गरेको मेगा वृक्षारोपण अभियान सोमबार(आज)पनि जारी रहेको छ।

“ग्रीन पोखरा, क्लिन पोखरा” परियोजना अन्तर्गत यसका लागी थालनी भएको मेगा वृक्षारोपण अभियान आज पनि अघि बढिरहेको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् ।

अभियान अन्तर्गत पोखरा महानगरपालिकाको वडा नं.८ र ९ मा पर्ने मुख्य शहरी क्षेत्र न्युरोडको दायाँबायाँ आज थप बिरुवाहरू लगाइएको छ ।

न्युरोड क्षेत्रमा कल्की, धुपी, वेगमवेली लगायत फूलका बिरुवाहरू लगाइएको छ ।

नगर प्रमुख आचार्यको उपस्थितिमा न्युरोडको दायाँबायाँ खाली रहेको स्थानमा “एक घर, दुई बिरुवा”को अवधारणामा वृक्षारोपण गरिएको छ ।

विभिन्न १० प्रजातिका फूलका बिरुवाहरू लगाइएको शहरी विकास पर्यटन वन तथा वातावरण महाशाखा प्रमुख सिनियर इन्जिनियर विमल रञ्जन कार्कीले बताए ।

नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा महानगरको वडा नं. ८ र ९ भित्र पर्ने व्यस्त सहरी क्षेत्र न्युरोडको दायाँ–बायाँ खाली जमिनमा सयौं फूलका बिरुवाहरू रोपिएका छन्।

अवधारणा अनुसार गरिएको अभियानमा स्थानीयबासी, व्यवसायी, जनप्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय सहभागिता देखिएको थियो।

महानगरपालिका क्षेत्रमा गरिएको लामो अध्ययन पश्चात् वन विज्ञान अध्ययन संस्थानको सुझाव अनुसार ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ कि.मी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १ सय २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने उनले बताए।

सो अभियान अन्तर्गत प्रमुख आचार्यले वृक्षारोपणलाई केवल बिरुवाहरू रोप्नेमा मात्र सीमित नगरी संरक्षणमा जोड दिन आग्रह गरे।

उनले नगरबासीलाई आफ्नो घर तथा पसल अगाडी लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षणका लागि आग्रह समेत गरे ।

विषेशगरी यस अभियानलाई सफल बनाउन प्रत्येक नगरवासीको सक्रिय साथ आवश्यक रहेको उनले जनाए ।

यस्तै महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले वृक्षारोपणलाई जीवनशैलीमै रुपान्तरण गर्नुपर्ने बताए।

“हरेक नगरबासीले आफ्नो वरिपरिका बिरुवाहरूलाई आफ्नै सम्पत्ति ठानेर माया गर्नुपर्छ। महानगरले आवश्यक प्राविधिक सहयोग दिनेछ, तर दायित्व तपाई हाम्रो साझा हो,” उनले जोड दिए।

विशेषज्ञहरूको सुझावअनुसार महानगरले वातावरण र भूगोललाई ध्यानमा राखेर उपयुक्त प्रजातिका बोटबिरुवा छनोट गरिएको छ।

जसअन्तर्गत वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत बोटबिरुवा छन्।

यस “ग्रीन पोखरा, क्लिन पोखरा” परियोजना पोखराको हरियालीमा मात्र सीमित नभई स्वच्छ र स्वस्थ जीवनशैली निर्माणको साझा प्रयासको रूपमा अघि बढ्ने विश्व लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्