भाद्र १८, पोखरा ।।
पोखराको जाल्पारोड क्षेत्रका विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ४ जना खाजाघर सञ्चालकहरु पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मंगलबार ती सञ्चालकहरुलाई पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा चितवन घर भई हाल पोखरा–८ जाल्पारोड बस्ने २८ वर्षीय सुनिता तामाङ, तनहुँ व्यास–८ घर भई हाल सृजनाचोक बस्ने १९ वर्षीय सुवास गुरुङ र बाग्लुङ जैमनी–८ घर भई हाल न्यूरोड बस्ने वर्ष २१ का शंकर थापा र सागर थापा मगर रहेका छन् ।
उक्त छापा मारिएको खाजाघरबाट प्रहरीले ११ जना महिलालाई उद्धार समेत गरेको छ।
उनीहरुलाई कोपिला नेपाल संस्थामा पठाइएको प्रहारले जनाएको छ । पक्राउ परेका ती व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशअनुसार सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
यस विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरी बहादुर वस्नेतले खाजाघर संचालनका नाममा अनैतिक गतिविधि भइरहेको सूचनाको आधारमा प्रहरीले आवश्यक कदम चालेको बताए ।
उनले उद्धार गरिएका महिलाहरूलाई सुरक्षित आश्रयमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।









