भाद्र ३१, पोखरा ।।
पोखरा महानगरपालिकाले भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा लुटपाट तथा चोरी भएका सामानहरू फिर्ता गर्न सार्वजनिक आग्रह गरेको छ।
आन्दोलनकै क्रममा महानगरपालिकाको प्रमुख प्रशासकीय भवन, वडा कार्यालयहरू तथा मातहतका निकायहरूबाट ठूलो संख्यामा सामग्री चोरी भएको र केही लुटपाट भएको महानगरले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोहरू र सिसिटिभी फुटेजमार्फत त्यस्ता गतिविधि पुष्टि भएको बताइएको छ।
महानगरले चोरी गरिएका सामग्रीलाई तत्कालै पोखरा सभागृहमा बुझाउन आग्रह गर्दै, तोकिएको समयभित्र फिर्ता नगरेमा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।









