आश्विन ५, पोखरा ।।
पोखरा पर्यटन परिषद्ले पर्यटन पुनउत्थानका लागि पहल गरिदिन गर्भनर डा.विश्वनाथ पौडेलसँग आग्रह गरेको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको सात सदस्यीय टोलीले आइतबार(आज) काठमाडौंमा गभर्नर पौडेललाई ध्यानाकर्षणपत्र बुझाउँदै पर्यटन पुनउत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो ।
टोलीमा अध्यक्ष पहारी सहित परिषद्का पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, रेवान पोखराका अध्यक्ष विश्वराज पौडेल, रेवान पोखराका पूर्व अध्यक्ष नरेशबहादुर भट्टराई, होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी र नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहाल सहभागी रहेका छन्।
देशका युवाहरू विदेशिने क्रम बढिरहेको अवस्थामा स्वदेशमै केही गर्नुपर्छ भन्ने मुख्य उद्देश्यका साथ देशमा नयाँ पुस्ताले गरेको आन्दोलन, ल्याएको परिवर्तन र अठोटको उच्च सम्मान गर्दै ध्यानाकर्षण-पत्रमा आन्दोलनका क्रममा अवान्छित व्यक्ति तथा स्वार्थ प्रेरित समुहको कारण भएको सरकारी तथा निजी सम्पत्ति माथिको तोडफोड, आगजनी तथा लुटपाटका घटना प्रति दुःख व्यक्त गरिएको छ ।
“पर्यटन व्यवसायको मुख्य सिजनको शुरूवात हुनै लाग्दा भएको देशमा घटेको उक्त घटनाबाट सबैभन्दा बढी असर यहाँका पर्यटन व्यवसायी तथा उद्योगीहरू माथी परेको छ”। ध्यानाकर्षण-पत्रमा भनिएको छ, “राज्यको आर्थिक विकासको प्रमुख आधारको रूपमा रहेको पर्यटन उद्योगमा हालै भएको घटनाबाट हरेक दिन पर्यटकहरूले आफ्ना भ्रमण प्याकेजकहरू तथा बुकिङहरू क्यान्सिल गरिरहेको अवस्था छ ।”
करिब सात खर्ब भन्दा बढि लगानी भईसकेको नेपालको पर्यटकीय राजधानी शहर पोखराको पर्यटन उद्योग देशको वर्तमान परिस्थितीको कारण यतिवेला सुनसान जस्तै भएको परिषद्ले जानकारी गराएको छ ।
विगतका भुकम्प, कोभिड—१९ जस्ता महामारीको अवस्थामा पनि पर्यटन उद्योगको पुनउत्थानको लागी सबै तहका सरकारबाट विभिन्न प्याकेजहरू घोषणा गरिएको उल्लेख गर्दै परिषद्ले हालको बदलिदो परिस्थितीमा पनि पर्यटन उद्योगलाई पुनउत्थान गर्न आग्रह गरेको छ ।
आन्दोलनको क्रममा व्यवसायिक प्रतिष्ठानहरू माथी गरिएको तोडफोड, आगजनी तथा लुटपाटका क्रममा पर्यटन व्यवसायीहरूमा परेको क्षतिको समचित क्षतिपूर्तिको व्यवस्था गरिदिन परिषद्ले अनुरोध गरेको छ ।
पर्यटन सिजनको शुरूवातमै भएको बुकिङ रद्दले शुन्यमै झरेको पर्यटन उद्योग हालको परिस्थिती एवम् आगामी पर्यटकीय याम फागुनमा घोषणा गरिएको निर्वाचनका कारण तथा विधमान राजनैतिक अस्थिरताले लामो समयसम्म पर्यटक आउने सम्भावना न्यून हुने निश्चित जस्तै भएको भन्दै परिषद्ले व्यावसायीहरूले लिएको बैंक कर्जा एवम् कर्जाको व्याज तथा किस्ता भुक्तानी गर्न आश्विन मसान्त, पौष मसान्त र चैत मसान्तसम्म पनि असम्भव नै भएकोले सो किस्ता व्याज तिर्ने म्याद कुनै शुल्क वा जरिवाना विना थप गरिनुपर्ने माग गरेको छ ।
आगामी ६ महिनासम्म पर्यटन आगमन हुने नदेखिएकोले व्यावसाय संचालनमा लागत अपरेटिङ कस्ट आवश्यक पर्ने हुँदा छोटो समयको लागी भएपनि थप व्यवसाय सञ्चालन कर्जा उपलव्ध गराईदिनुपर्ने, पर्यटन उद्योेगलाई दिईने कर्जाको किस्ता तिर्ने अवधी कम्तीमा २५ बर्षको हुने गरि कर्जाको पुनसंरचना र पुनर्तालीकीकरण गरिनुपर्ने परिषदले माग गरेको छ ।
पर्यटन उद्योगको लागी लिएको कर्जामा रि फाइनान्सिङ सुविधा उपलब्ध गराईदिनु पर्ने, साना तथा मझौला पर्यटन व्यवसायलाई पुनउत्थान गर्नका लागी बिगतमा व्यवस्था भए जस्तो पन्ध्रलाख रुपैयाँसम्म कम्तिमा पाँच बर्ष सम्मको लागी शुन्य व्याजदरमा व्यवसाय जीवनरक्षा कर्जा प्रदान गर्नपर्ने आग्रह गरिएको छ ।
पर्यटन उद्योगमा प्रदान गरिएको कर्जाको व्याजदरलाई अझ न्यून सहुलियत दरमा प्रदान गरिनुपर्ने, पर्यटन उद्योग पनि अन्य उद्योग सरह मान्यता दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन सम्बन्धमा चालु आर्थिक बर्षको बजेटमा घोषणा गरिएको तर पर्यटन व्यवसायलाई उद्योग सरहको सुविधा प्रदान गर्ने काम हालसम्म पनि कार्यान्वयनमा नआएको भन्दै यथाशीघ्र सोको कार्यान्वयन गरिनुपर्ने माग गरिएको छ ।
नेपालले उचित वातावरण वनाएमा विश्वमै प्रतिस्पर्धा गर्न सक्ने एकमात्र पर्यटन उद्योग भएको र यसले रोजगारी सिर्जना र बिदेशी मुद्रा आर्जन गरी समग्र आर्थिक विकास तथा सम्वृद्धि हासिल गर्न सवैभन्दा बढि योगदान पुु¥याएको उल्लेख गर्दै परिषद्ले यसको पुनउत्थान एवम् पुर्र्नजागरणका अपरिहार्य भएको जनाएको छ ।
टोलीले आजै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग पनि भेट गरी पर्यटन क्षेत्रको पुनउत्थान लगायतका विषयमा छलफल गरेको परिषद्का अध्यक्ष पहारीले जानकारी दिएका छन् ।









