असोज २३, काठमाडौं ।।
आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।
“स्थानीय सेवा, विश्वव्यापी पहुँच” भन्ने नाराका साथ प्रतेक अक्टोबर ९ तारीखमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै आइरहेको छ।
विषेशगरी सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक संघ (Universal Postal Union–UPU) को स्थापना भएको सम्झनामा हरेक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ।
विश्व हुलाक संघको स्थापना दिवसकै अवसरमा सन् १९६९ मा जापानको टोकियोमा आयोजित महासभाले यो दिनलाई औपचारिक रूपमा ‘विश्व हुलाक दिवस’का रूपमा घोषणा गरेको थियो।
सोही दिनबाट यो दिवस विश्वभर मनाउँदै आइरहेको छ। विश्व हुलाक दिवस मनाउने उद्देश्य हुलाक सेवाको ऐतिहासिक भूमिका, आधुनिक रूपान्तरण र डिजिटल युगमा पनि यसको महत्वबारे जनचेतना जगाउनु हो।
हुलाक सेवाले विगतदेखि नै शहरी र ग्रामीण बस्तीबीच सूचना, सन्देश र सेवाको मुख्य सेतुको काम गर्दै आएको छ।
नेपालमा पनि हुलाक सेवा अझैसम्म ग्रामीण भेगमा सूचना आदानप्रदान, दस्तावेज पठाउने तथा सरकारी चिठीपत्र आदानप्रदानको प्रमुख माध्यम बनेको छ।
पछिल्ला वर्षहरूमा नेपाल हुलाक सेवाले डिजिटल हुलाक सेवा, पार्सल ट्र्याकिङ प्रणाली, हुलाक बैंकिङ लगायतका नयाँ सेवा विस्तार गरेको छ।
यस अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विशेष सन्देश जारी गर्दै, हुलाक सेवाले विश्वका सहरी र ग्रामीण समुदायबीचको सम्पर्क कायम राख्दै सबैलाई जोड्ने सशक्त माध्यमका रूपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्।
यस दिवसलाई लिएर नेपालमा पनि सूचना तथा सञ्चार मन्त्रालय र हुलाक सेवा विभागको संयोजनमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा हुलाक सेवाको डिजिटल रूपान्तरण, ग्रामीण हुलाक सञ्जाल सुदृढीकरण र हुलाक बैंकिङ सेवा विस्तारबारे छलफल हुने बताइएको छ।









