कार्तिक २, काठमाडौं ।।
स्वास्थ्य र आयुर्वेदका अधिष्ठाता भगवान् धन्वन्तरीको जन्मजयन्ती देशभर श्रद्धा, सम्मान र आरोग्यप्रेमका साथ मनाइँदैछ।
आयुर्वेदमा स्वास्थ्य र औषधिका देवता मानिने धन्वन्तरीको स्मृतिमा आइतबार(आज) राष्ट्रिय आरोग्य दिवस पनि देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ।
नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. श्यामबाबु यादवका अनुसार धन्वन्तरीलाई आयुर्वेद चिकित्सा विज्ञानका संस्थापक र प्रथम वैद्यका रूपमा सम्मान गरिन्छ।
उनको जन्मजयन्तीको अवसरमा देशभरका आयुर्वेद चिकित्सक, वैद्य, कविराज र विद्यार्थीहरूले विविध कार्यक्रमको आयोजना गरी आरोग्यप्रति जनचेतना जगाउने गर्छन् ।
यो दिवसलाई अर्थपूर्ण बनाउन यसवर्षको नारालाई विशेष “आरोग्यताको आधार, योग, ध्यान र आयुर्वेद उपचार” तय गरिएको छ।
विषेशगरी आयुर्वेदको समग्र जीवनशैलीमा केन्द्रित दर्शन योग, ध्यान र प्राकृतिक उपचारमार्फत दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्ने सन्देश दिन यसवर्ष यो नारा तय गरिएको हो ।
राष्ट्रिय आरोग्य दिवसको रूपमा धन्वन्तरी जयन्ती मनाउने परम्परा वि.सं. २०५६ सालदेखि सुरु भएको हो। त्यसयता प्रत्येक वर्ष यस अवसरमा सरकारी तथा निजी क्षेत्रका आयुर्वेद संस्थाहरूले स्वास्थ्य परामर्श, निःशुल्क उपचार शिविर र जनचेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेका छन्।
पछिल्लो समय देशभर एक केन्द्रीय आयुर्वेद अस्पताल, तीन प्रादेशिक अस्पताल, ७७ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र सयौँ पालिकास्तरीय आयुर्वेद शाखा तथा नागरिक आरोग्य सेवा केन्द्र मार्फत निःशुल्क उपचार र औषधि वितरण भइरहेको छ।












