शिशु कल्याण,डेभिज फल्स क्लब र प्रहरी चौकीको संयुक्त आयोजनामा सरसफाइ तथा जनचेतना कार्यक्रम सम्पन्न
  • सन्तोष पराजुली

जेठ २२,पोखरा।।

५४औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिका–१७, छोरेपाटनमा जनचेतनामूलक तथा सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शिशु कल्याण इङ्लिस स्कुल, डेभिज फल्स क्लब तथा छोरेपाटन प्रहरी चौकीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले वातावरण संरक्षण र सामुदायिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण सन्देश दिएको छ।

कार्यक्रम तीन चरणमा विभाजन गरी सञ्चालन गरिएको थियो। पहिलो चरण अन्तर्गत शिशु कल्याण इङ्लिस स्कुलको प्राङ्गणमा औपचारिक समारोह आयोजना गरिएको थियो। विद्यालयका संस्थापक निर्देशक ईश्वर प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। ।

उक्त अवसरमा बोल्दै डीएसपी भट्टराईले वातावरण संरक्षणका लागि हरेक नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। विद्यालय तहदेखि नै यस्ता कार्यक्रम सञ्चालन हुनु सकारात्मक र प्रेरणादायी रहेको उल्लेख गर्दै उहाँले आयोजकप्रति आभार व्यक्त गर्नुभयो।

समारोहमा विद्यालयका प्रधानाध्यापक पुष्पराज पौडेल तथा कक्षा १० की छात्रा वासना गुरुङले विश्व वातावरण दिवसको महत्व र वर्तमान पर्यावरणीय चुनौतीबारे आफ्नो धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका अनुशासन विभाग प्रमुख सर्वजित गुरुङले गर्नुभएको थियो।

दोस्रो चरणमा छोरेपाटन प्रहरी चौकी अगाडि कोणसभा आयोजना गरिएको थियो। उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थी सुप्रिया सुनार र विनम गुरुङ तथा डेभिज फल्स क्लबका अध्यक्ष दीपक सुवेदीले वातावरण संरक्षणको आवश्यकता र यसको सान्दर्भिकतामाथि प्रकाश पार्नुभएको थियो। सोही क्रममा हरियाली प्रवर्द्धनका लागि सामूहिक वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

तेस्रो तथा अन्तिम चरण अन्तर्गत तिब्बती क्याम्प र बेलघारी क्षेत्र हुँदै विद्यालयसम्म प्लेकार्डसहित जनचेतनामूलक र्‍याली निकालिएको थियो। ‘वातावरण जोगाऔं, भविष्य सुरक्षित गरौं’ जस्ता सन्देश बोकेका नारासहितको र्‍यालीमा सहभागीहरूले व्यापक सरसफाइ अभियान सञ्चालन गरेका थिए।

विद्यालयका शिक्षक नारायण तिमिल्सिनाका अनुसार कार्यक्रमले स्थानीय स्तरमा वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै समुदायलाई सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्