पोखरा सहकारीमा ८८ करोडको घोटाला: अध्यक्षदेखि व्यवस्थापकसम्म सात जना पक्राउ
  • प्रमुख खबर

Oplus_131072

कार्तिक १९, पोखरा ।।
पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको करिब ८८ करोड रुपैयाँ हिनामिनाको आरोपमा कास्की प्रहरीले संस्थासँग सम्बन्धित सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष सुरेन्द्र गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणि दाहाल र व्यवस्थापक भीष्मप्रसाद गुरुङ छन्।

यस्तै सदस्य दोर्जे तामाङ, बजार प्रमुख बेदीप्रसाद सुवेदी र पूर्वसचिव/सदस्य ईन्द्रप्रसाद द्वालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका वित्तीय विश्लेषक निर्मल गौतम नेतृत्वको अध्ययन समितिले सहकारीको प्रारम्भिक लेखा परीक्षणपछि करिब ८८ करोड रुपैयाँ अनियमितता भएको प्रतिवेदन पेश गरेको थियो।

समितिका अनुसार सहकारीका पदाधिकारी, व्यवस्थापक र कर्मचारीबीचको मिलेमतोमा रकम हिनामिना गरिएको देखिएको छ।

सोही प्रतिवेदनका आधारमा कास्की प्रहरीले उनीहरुलाई बुधबार(आज) पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरूलाई आजको मितिदेखि नै मुद्दा अघि बढाएको छ।

विषेशगरी यस सहकारीका बचतकर्ताहरुले आफ्नो बचत रकम नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएका थिए ।

सोही उजुरी पश्चात गरिएको अनुगमनका क्रममा सहकारी भित्रका धेरै वेथिति र समस्याहरु बाहिर उजागर भएको थियो । जहाँ सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरु समेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो ।

पोखरा सहकारीले २०५८ सालमा पोखरा–८, सिर्जनाचोकबाट आफ्नो सेवा सुरु गरेको थियो । तर पछिल्लो समय पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय सञ्चालन गर्दै आईरहेको छ ।

सहकारीले पोखरा–१०, अमरसिंह र पोखरा–८, सिर्जनाचोकमा सेवा केन्द्रहरु पनि सञ्चालन गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्