कार्तिक २०, काठमाडौं ।।
फिलिपिन्समा आएको शक्तिशाली टाइफुन ‘कल्मेगी’ ले भीषण विनाश मचाउँदा कम्तीमा एक सय जनाको ज्यान गएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार उक्त टाइफुनका कारण हजारौँ मानिस घरबारविहीन बनेका छन्। सबैभन्दा बढी सेबु प्रान्त प्रभावित भएको बताइन्छ, जहाँ मुसलधारे वर्षा र बाढीका कारण ४९ जनाको मृत्यु भएको छ भने ७५ जना अझै बेपत्ता रहेका बीबीसीले जनाएको छ।
मंगलबार बिहान स्थलगत प्रवेश गरेको यो आँधीले झन्डै १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा बहाएको र भीषण वर्षा गराएको थियो।
बाढीका कारण घरहरूमा पानी पसेपछि धेरै स्थानीय बासिन्दा छानामा बसेर उद्धारको प्रतीक्षा गर्न बाध्य भएका छन्।
यता, उद्धार कार्यका क्रममा खटिएको एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा चालक दलका ६ जनाको मृत्यु भएको पनि पुष्टि भएको छ।
फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका अनुसार हालसम्म चार लाखभन्दा बढी मानिस विस्थापित भएका छन् भने उद्धार तथा राहत कार्य तीव्र गतिमा अघि बढाइँदैछ।













