पोखराको कन्या क्याम्पसका छात्राहरुलाई मन्टेश्वरी तालिम
  • संजय थापा

मंसिर ०२, पोखरा ।।
पोखरामा अबस्थित कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुलाई ३ महिने मन्टेश्वरी तालिमको कार्यक्रम सोमबार  सम्पन्न  भएको छ । क्याम्पसका सञ्चालक समितीका अध्यक्ष शिवलाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी तथा पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष प्रकाशमान उदास रहेका थिए । उदासले कार्यक्रममा  सिकेको सीपलाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै सफल व्यक्ति र कार्यको अनुसरण गरे सफलता प्राप्त गर्ने बताए । भने शिलवालले क्याम्पसले छात्राहरुलाई पढाइमा मात्र सिमित नराखी व्यवहारीक सिप प्रदान गर्न यस तालिमको आयोजना गरेको प्रकाश पारे ।

कार्यक्रममा उदासले यस बर्ष सञ्चालन गरिने दोश्रो मन्टेश्वरी तालिमको लागि वडाबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।  क्याम्पस प्रमुख सुरेस कुमार मानन्धरले विश्व विद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसमा मन्टेश्वरी ल्याव निर्माण गरिएको जानकारी गराउदै  छात्राहरुका लागि मन्टेश्वरी लगायत लेखा, प्रस्तावना लेखन, कम्प्यूटर शिक्षा जस्ता व्यावहारीक तालिमहरु निरन्तर आयोजना गरिरहेको बताए ।

कार्यक्रमका सहयोगी संस्था सांग्रिला विकास बैंकका प्रदेश प्रमुख रेबन्त श्रेष्ठले कार्यक्रम निकै प्रभावकारी भएकाले संस्थाको सहयोग सही सदुपयोग भएको बताउँदै, आगामी दिनहरुमा पनि अन्य कार्यक्रमहरुमा निरन्तर सहयोग गर्ने बताए । तालिमका प्राविधिक सहयोगी संस्था पोखरा मन्टेश्वरी तालिम केन्द्रका सञ्चालक थिर बहादुर थापाले पहिलो पटक क्याम्पस संग सहकार्य गर्न पाएको र कुनै पनि छात्राले तालिम बिचमा नछाडेकोमा खुशी व्यक्त गर्दै प्रशिक्षार्थीहरुको रोजगारीमा सहयोग गर्ने बताए ।

प्रशिक्षार्थीहरुको तर्फबाट अस्मिता पुनले तालिम निकै प्रभावकारी भएको बताउदै आफु रोजगारीमा संलग्न भैसकेकाले युवाहरुको बिदेश पलायन रोक्न यस्तो तालिम निकै प्रभावकारी हुने बताईन् । कार्यक्रममा प्राध्यापक संघका सभापती दिननाथ अधिकारी, पूर्व छात्रा समितीका संयोजक निलम कर्माचार्य, शिक्षा संकायका प्रमुख भूमिराज पण्डित, छात्रा कल्याण समितिका संयोजक सोनु पाइजा लगायतले शुभकामना मन्तव्य राखेका थिए । २३ जना छात्राहरुको सहभागितामा प्रमुख प्रशिक्षक सोबिता थापा र बिशेष प्रशिक्षक कल्पना थापा रहेको उक्त तालिम २०८२ असार ५ गते शुरुवात भई असोज ३० गते सम्म सञ्चालन भएको थियो । तालिम समापन कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख चित्रबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्