आज नोभेम्बर २१ तारिक विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
  • प्रमुख खबर

Oplus_131072

मंसिर ५, काठमाडौं ।।
आज नोभेम्बर २१ तारिक विश्व टेलिभिजन दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

विषेशगरी मानव जीवन र समाजमा टेलिभिजनले पुर्याउँदै आएको प्रभाव, सूचना प्रवाह र जनचेतना मूलक विषयवस्तुलाई सदैव उजागर गर्ने भूमिकालाई सम्मान गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष यो दिवस मनाइने गरिएको हो।

टेलिभिजनले निर्णय प्रक्रियादेखि जनमत निर्माण, शान्ति–सुरक्षादेखि विकास–बहस सम्मको क्षेत्रमा पुर्‍याएको योगदानलाई मान्यता दिँदै राष्ट्रसंघको महासभाले सन् १९९६ डिसेम्बर १७ मा विशेष प्रस्ताव पारित गर्‍यो।

यसै आधारमा हरेक नोभेम्बर २१ लाई आधिकारिक रूपमा विश्व टेलिभिजन दिवसका रूपमा मनाउन थालिएको हो ।

सूचना आदान–प्रदानको सबल माध्यमका रूपमा टेलिभिजनले विश्वका समुदायलाई जोड्ने, संवेदनशील मुद्दामा ध्यानाकर्षण गराउने तथा सार्वजनिक धारणा निर्माणमा निर्णायक भूमिका खेल्ने विश्वास संयुक्त राष्ट्रसंघको छ।

सन् १९९६ कै नोभेम्बर २१ र २२ मा आयोजित पहिलो
विश्व टेलिभिजन मञ्चले टेलिभिजनको ग्लोबल प्रभाव, जिम्मेवारी र अन्तर्राष्ट्रिय सहकार्य विस्तारबारे महत्वपूर्ण बहसको वातावरण तयार गरेको थियो।

त्यसपछि टेलिभिजन क्षेत्रको योगदानलाई स्मरण गर्ने सामूहिक अभियानका रूपमा यो दिवस विश्वव्यापी पर्वझैँ स्थापित भयो।

आजको डिजिटल युगमा समेत टेलिभिजन अझै पनि विश्वसनीय जानकारी, मनोरञ्जन र सामाजिक संवादको शक्तिशाली माध्यमका रूपमा निरन्तर अगाडि बढिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्