मंसिर ११, पोखरा ।।
दोस्रो संस्करणको ‘दाँई महोत्सव’ को तयारी तिव्र पारिएको छ। विषेशगरी पोखरालाई वर्षभरि नै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित सुरु गरिएको यस महोत्सवको तयारी तिव्र पारिएको हो ।
यस वर्ष पोखरा–१९ पुरुन्चौरस्थित चुरुङ्गामा आगामि मंसिर १३ गते (शनिबार) महोत्सव हुने आयोजक संस्था पोखरा पर्यटन परिषदले बिहीबार(आज) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।
पोखरा सबै मौसमका लागि भन्ने मूल नारासहित २०८१ सालबाट सुरु गरिएको यो महोत्सव पोखराको बढ्दो शहरीकरण, परिवर्तनशील जीवनशैलीका बीच परम्परागत कृषि प्रणालीको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको परिषदका अध्यक्ष तारानाथ पहारीले जानकारी दिएका छन्।
उनका अनुसार महोत्सव बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ। पोखरा नेपालकै पर्यटनको राजधानीको रूपमा घोषणा भई पोखरा भ्रमण वर्ष २०२५ अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको यस समयमा महोत्सवले त्यसको उद्देश्य प्राप्तिमा समेत टेवा पुर्याउने विश्वास आफूहरूको रहेको अध्यक्ष पहारीले बताए ।
४ वटा धानका कुनियो रहेको महोत्सव स्थलमा १० भन्दा बढी गोरुले दाँई गर्नुका साथै धान चुट्ने, धानको राश बनाउने र बत्ताउने कार्य गरिनेछ ।
परम्परागत दाँईको झल्को दिन खाजा र खाना पनि परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिने पहारीले बताए।
उनका अनुसार यस दाँई महोत्सवमा स्वदेशीसँगै विदेशी पर्यटक पनि सहभागी गराईने जनाइएको छ । पोखरा र लेखनाथका होटलहरुमा रहेका विदेशी पर्यटकहरुलाई गाडी रिजर्भ गरेर दाँई महोत्सव अवलोकनका लागि लगिनेछ ।
त्यस्तै यस महोत्सवमा गत वर्ष जस्तै विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पनि सहभागि गराईनेछ ।
महोत्सवको प्रमुख उद्देश्य परम्परागत कृषि प्रणाली, धान रोपाइँपछिको दाँई (धान चुट्ने) संस्कृतिलाई जीवन्त राख्दै कृषि, संस्कृति र पर्यटनलाई एउटै थलोमा जोड्ने रहेको परिषदका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव संयोजक हरी भुजेलले बताए ।
नेपाल कृषि प्रधान मुलुक भए पनि पछिल्लो समय खेतीयोग्य जमिन मासिँदै गएको, धान खेती घट्दै गएको सन्दर्भमा परिषद्ले कृषकको पेशाप्रति सम्मान, नयाँ पुस्तामा कृषि चेतना र एग्रो टुरिजमको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता यस वर्ष पनि निरन्तरता दिएको उनले बताए ।
महोत्सवको अवसरमा उत्कृष्ट धान उत्पादन गर्ने किसानलाई नगद १० हजार, दोस्रो हुनेलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजारसहित पुरस्कृत गरिने संयोजक भुजेलले स्पष्ट पारे।
उनका अनुसार महोत्सवमा उत्कृष्ट गोरु पालक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगिता हुेनछन् ।
प्रतियोगिताका बिजेताहरुलाई नगदसहित पुरस्कृत समेत गरिने छ । यससँगै महोत्सवमा सहभागी हुने देदेरालाई टोपी वितरण र अतिथिहरूलाई स्थानीय उत्पादन उपहार स्वरुप पनि प्रदान गरिने आयोजकले जनाएको छ।
यस महोत्सवले युवालाई कृषि पेशाप्रति आकर्षित गर्नुका साथै पर्यटकलाई नेपालको मौलिक कृषि प्रणालीको प्रत्यक्ष अनुभव गराउने अपेक्षा गरिएको छ।
यसले खेतीयोग्य भूमिको संरक्षण, कृषकको पेशागत आत्मसम्मान र ग्रामीण पर्यटनलाई समेत प्रवर्द्धन गर्ने विश्वास आयोजकले लिएको छ।












