उद्यमशीलता र प्रविधिको महासंगम बन्दै पोखरा, ३४ औं व्यापार मेलासँगै क्यान इन्फोटेक मंसिर १७ बाट
  • प्रमुख खबर

मंसिर १६, पोखरा ।।
नेपाल मणिपाल शिक्षण अस्पतालको मुख्य प्रायोजनमा आयोजना हुने ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

यही मंसिर १७ गते बुधबारदेखि २१ गते आइतबारसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँ बजारमा हुने मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पोखरा उद्योग वाणिज्य संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

सो अवसरमा संघका अध्यक्ष गोकर्ण कार्कीले यसपटक मेलामा कुल १ सय ४ वटा स्टल रहनेछन्, जसमा डोमभित्र ७४ वटा र खुला स्थलमा ३० वटा स्टल रहने व्यवस्था गरिएको बताए ।

उनका अनुसार विषेशगरी डोमभित्र सूचना प्रविधिसम्बन्धी (आईटी) स्टलहरू रहनेछन् भने बाहिरी खुला क्षेत्रमा औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकला, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका विविध क्षेत्रका स्टलहरू रहनेछन्।

स्टल निर्माण कार्य लगभग सम्पन्न भइसकेको आयोजकले जनाएको छ। यस वर्ष मेलामा अघिल्ला संस्करणजस्तो ठूलो सांगीतिक कार्यक्रम नहुने तर उद्यमशीलता विकास, व्यवसाय प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष कार्कीले बताए।

उनले भने,“हाम्रो लक्ष्य मनोरञ्जनभन्दा पनि उद्यमशीलता विकास, व्यवसाय प्रवर्द्धन र लगानीको वातावरण मजबुत बनाउन हो।”

हालै जेनजी प्रदर्शनका बेला निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरणलाई पुनः सबल बनाउन, उद्योगी–व्यवसायीको मनोबल बढाउन र नयाँ लगानीका सम्भावना खोज्ने उद्देश्यले पनि मेला आयोजना गरिएको उनले बताए । जसले गर्दा यो मेला अर्थतन्त्र चलायमान बनाउन र सम्पूर्ण व्यवसायीहरुको मनोबल बढाउन कोसेढुङ्गा सावित हुने विषयमा आफूहरू विश्वस्त रहेको कार्कीले बताए ।

यस वर्षको मेलाको मूल नारा ‘लगानीको सम्बर्धन : उद्योग–व्यवसायको प्रवर्द्धन’ तय गरिएको छ। जसअन्तर्गत मेलामार्फत स्वदेशी उत्पादन तथा सेवाहरूको बजार प्रवर्द्धन, पोखराको पर्यटन र व्यापार प्रवर्द्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्कको माध्यम बनाउने उद्देश्य लिइएको आयोजकको भनाइ छ।

अध्यक्ष कार्कीले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहर बनाउने संघको अभियानसँग मणिपाल शिक्षण अस्पतालको उद्देश्य मेल खाने भएकाले सहकार्य गरिएको स्पष्ट पारे।

पोखराको हावापानी स्वास्थ्य पर्यटनका लागि अत्यन्तै अनुकूल रहेकाले यहाँ मेडिकल तथा वेलनेस सेन्टर विस्तार गरी पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ । यस्तै संघका पूर्व अध्यक्ष तथा मणिपाल शिक्षण अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठले पोखरालाई स्वास्थ्यको हब बनाएर पर्यटन प्रवर्द्धन गर्न सकिने बताए।

उपचार र शिक्षाको गन्तव्य बन्दै गएको मणिपालको सदुपयोग गरी पोखरालाई चिकित्सा तथा आरोग्य पर्यटनको केन्द्र बनाउन सकिने उनले उल्लेख गरे।

यसैबीच क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले क्यान इन्फोटेकमार्फत सूचना प्रविधि क्षेत्रमा आएका नयाँ खोज, नवप्रवर्तन, साइबर सुरक्षा सचेतना लगायतका कार्यक्रम समावेश गरिने जानकारी दिए। यसले युवालाई प्रविधिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

त्यस्तै यस वर्ष मेला निःशुल्क अवलोकन गर्न सकिने व्यवस्था आयोजकले गरेको छ। अघिल्ला वर्षहरूमा टिकट शुल्क लाग्ने व्यवस्था भए पनि यसपटक विद्यार्थी, अभिभावक, कृषक तथा सर्वसाधारण सबैका लागि निःशुल्क प्रवेशको सुविधा उपलब्ध गराइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्