नेपालमा २ सय र ५ सय भारु खुला कारोबारमा, साना व्यवसायीलाई ठूलो राहत
  • प्रमुख खबर

Oplus_131072

मंसिर १९, काठमाडौं ।।
नेपालमा एक सय रुपैयाँभन्दा धेरै दरका भारतीय रुपैयाँ (भारु) आधिकारिक रूपमा चलनचल्तीमा आउने भएका छन्।

भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नेपालमा ठूला दरका भारु सटही गर्न अनुमति दिएसँगै अब २ सय र ५ सय दरका भारतीय नोट सहज रूपमा कारोबारमा प्रयोग गर्न पाइने भएको हो।

यसअघि नेपालमा एक सय रुपैयाँ भारु नोट मात्र कानुनी रूपमा चलनचल्तीमा थियो। यसभन्दा ठूला मूल्यका नोट प्रयोग गर्न प्रतिबन्ध रहेको थियो। भारतको नयाँ निर्णयसँगै अब त्यो सीमाना हटेको छ।

हाल भारतमा एक सय रुपैयाँ भन्दा माथिका तीन प्रकारका नोट चलनचल्तीमा छन् ।

ती नोटहरुमा २ सय , ५ सय र २ हजार रुपैयाँ। तर भारतले तीन वर्षअघि नै २ हजार रुपैयाँ दरका नयाँ नोट छाप्न बन्द गरिसकेको छ। त्यसकारण अब नेपालमा मुख्य रूपमा २ सय र ५ सय रुपैयाँका नोट सटही तथा कारोबारमा प्रयोग हुनेछन्।

आरबीआईले जारी गरेको नयाँ व्यवस्था अनुसार नेपाल र भुटानमा २५ हजार रुपैयाँसम्मका भारतीय नोट आयात तथा निर्यात गर्न सकिने व्यवस्था गरेको छ। यसले सीमा क्षेत्रका व्यापार, पर्यटन, उपचार, अध्ययन र साना कारोबारमा सहजता ल्याउने विश्वास गरिएको छ।

विशेषगरी भारतसँग जोडिएका सीमावर्ती बजार, पर्यटकीय क्षेत्र, होटल, यातायात व्यवसाय र दैनिक उपभोग्य कारोबारमा यो निर्णयले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यसले नेपाल–भारतबीचको वित्तीय कारोबारलाई थप सरल, पारदर्शी र व्यवस्थित बनाउने विश्लेषकहरूले बताएका छन् ।

नेपालमा ठूलो संख्यामा भारतबाट आउने पर्यटक, तीर्थयात्री, व्यापारी तथा श्रमिकहरूलाई अब नगद कारोबारमा थप सहजता मिल्नेछ। यससँगै साना व्यवसायीहरूलाई पनि नोट सटही गर्दा झन्झट कम हुनेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्