ग्यास बोकेको ट्याङ्कर पल्टिदा रौतहटको पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
  • प्रमुख खबर

पुष १५, राैतहट ।।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको छ । भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरका लागि छुटेको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् । घाइते चालकको चन्द्रनिगाहपुरमा सिभिल अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख राजेन्द्र थापामगरले जानकारी दिए ।

पूर्वबाट छुटेका गाडी चन्द्रनिगाहपुरको जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि र पश्चिमतर्फबाट आएका धन्सार पुल नजिक रोकिएको ट्राफिक प्रहरी प्रमुख थापामगरले बताए । ट्याङ्कर बीच सडकमा दुर्घटना हुँदा सडक अवरुद्ध भएको छ भने ग्यास लिक भइरहेको छ । ग्यास ट्याङ्कर उठाउनका लागि जनकपुरबाट ग्यास कम्पनीका प्राविधिकसहितको टोली पुग्दैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्