डा. कृष्णराज अधिकारी बने गण्डकी विश्वविद्यालयका नयाँ उपकुलपति
  • प्रमुख खबर

Oplus_131072

माघ ७, पोखरा ।।
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. कृष्णराज अधिकारी नियुक्त भएका छन्। उपकुलपति प्रा.डा. नवराज देवकोटाको पाँच वर्षे कार्यकाल गत असोज १४ गते सकिएपछि उपकुलपति पद रिक्त रहँदै आएको थियो।

सो पदमा सिफारिस समितिले सिफारिस गरेका तीन उम्मेदवारमध्येबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपकुलपति अधिकारीले बुधबार(आज)नै विश्वविद्यालय पुगेर औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उपकुलपति अधिकारीले गण्डकी विश्वविद्यालयलाई केवल शिक्षण संस्थामा सीमित नराखी अनुसन्धान, नवप्रवर्तन र ज्ञान–उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरे।

उनले विश्वविद्यालयलाई समयसापेक्ष, प्रविधिमैत्री र समाजसँग जोडिएको शैक्षिक थलो बनाउने लक्ष्य रहेको बताए।

त्रिभुवन विश्वविद्यालयमा साढे २८ वर्ष लामो सेवा अनुभव बोकेका डा. अधिकारी सौर्य ऊर्जामा विद्यावारिधि प्राप्त विज्ञ हुन्।

उनी यसअघि इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरका प्रमुखका रूपमा कार्यरत थिए भने उनले फिजिकल सोसाइटी गण्डकीको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

रिक्त उपकुलपति पदका लागि न्यासिक परिषद्का अध्यक्ष प्रा.डा. कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा गठित छनोट समितिले प्रतिस्पर्धामा रहेका ६ जना उम्मेदवारमध्ये ३ जनाको नाम सिफारिस गरेको थियो।

समितिमा परिषद् सदस्य संगीता सिंह र प्रदेश लोक सेवा आयोग गण्डकीका सदस्य योगेन्द्र गौचन सदस्य रहेका थिए।

समितिले डा. अधिकारीसँगै पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोइराला र वन विज्ञान अध्ययन संस्थानका पूर्व डिन प्रा.डा. वीरबहादुर खनालको नाम सिफारिस गरेको थियो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्