माघ १४, मुस्ताङ ।।
मुस्ताङमा मंगलबार रातिदेखि सुरु भएको लगातारको भारी हिमपातले जनजीवन कष्टकर बनेको छ।
बाक्लो हिमपातका कारण मुख्य सडक तथा पदमार्गहरू अवरुद्ध भएपछि आवागमन पूर्ण रूपमा प्रभावित हुँदा स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्रीहरू जोखिममा परेका छन्।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले आज जरुरी सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
विशेषगरी मुक्तिनाथ क्षेत्र, कोरला नाका र उपल्लो मुस्ताङका अधिकांश स्थानमा भारी हिमपात भइरहेकाले ती क्षेत्र उच्च जोखिममा रहेको प्रशासनले जनाएको छ।
हिमपातकै कारण कालीगण्डकी करिडोरअन्तर्गत कागबेनी–कोरला सडकखण्ड र कागबेनी–मुक्तिनाथ सडक पूर्ण रूपमा बन्द भएको छ।
प्रमुख जिल्ला अधिकारी अजिता शर्माले सडक खुलाउने प्रयास जारी रहे पनि मौसम प्रतिकूल रहेकाले तत्काल सञ्चालन सम्भव नभएको बताइन्। यससँगै उच्च हिमाली भेगका अन्य विभिन्न पदमार्गहरू समेत प्रभावित भएका छन्।
प्रशासनका अनुसार याकखर्क (५८०० मिटर), थोराङला पास (५४५० मिटर), सरिबुङ पास (६००० मिटर), मेसोकान्तो पास (५२४५ मिटर) र धौलागिरि पदमार्गको धम्पुस पिक क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ ।
हिमपातका कारण ट्रेकिङ र आरोहण गतिविधि जोखिमपूर्ण बनेका छन्। जिल्लाका अन्य भागमा पनि वर्षा र हिमपात जारी रहने सम्भावना देखिएकाले मौसमको जानकारी लिएर मात्र यात्रा गर्न प्रशासनले सुझाव दिएको छ।
आपत्कालीन अवस्थाका लागि प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा सूचना अधिकारीका सम्पर्क नम्बरसमेत सार्वजनिक गरिएको छ।












