वैशाख १७,रोल्पा
वैशाख पूर्णिमा जात्रामा सहभागी हुन गएका तीर्थयात्री सवार एक जीप रोल्पामा दुर्घटनाग्रस्त भएको छ। बिहीबार (वैशाख १७) दिउँसो थबाङ गाउँपालिका–१, जलजला क्षेत्रको सडकखण्डबाट जीप भीरमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जीप करिब ८०० मिटर तल खसेको हो। दुर्घटनामा हालसम्म १६ जना घाइते भएका छन्, जसमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
रुकुम पूर्वबाट जलजलामा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न गइरहेका तीर्थयात्रीहरू सवार उक्त जीप दुर्घटनामा परेको हो। घटनापछि तत्कालै उद्धार कार्य सुरु गरिएको छ र घाइतेहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
जीपमा सवार यात्रुहरूको यकिन संख्या भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको रोल्पाका प्रहरी निरीक्षक सुनील थापाले बताएका छन्।











