माघ १६, काठमाडौं ।।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा धेरै माथि उठाउँदै ‘देशको दिशा तय गर्ने जनमत संग्रह’ का रूपमा व्याख्या गरेका छन्।
उनले एमालेले यसपटक स्पष्ट रूपमा पहिलो शक्ति बन्ने दाबी गर्दै फागुनको पहिलो साताभित्रै चुनावी घोषणापत्र सार्वजनिक गर्ने घोषणा गरे।
शुक्रबार(आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले अहिले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन र आन्तरिक तयारीलाई तीव्र बनाएको जानकारी दिए।
घोषणापत्र सार्वजनिक भएसँगै उम्मेदवारहरू ‘घरदैलोदेखि जनतामाझ’ सक्रिय रूपमा जाने पार्टीको योजना भएको उनले बताए ।
त्यस्तै उनले एमालेले यसपटक ३० देखि ३४ प्रतिशतसम्म लोकप्रिय मत हासिल गर्ने आकलन गरेको बताउँदै यो परिणामले एमाले फेरि राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्ने पनि बताए ।
यसैबीच पोखरेलले सामाजिक सञ्जालमा आधारित ‘पपुलिजम’ ले लोकतन्त्रलाई भ्रमित बनाइरहेको टिप्पणी गरे।
उनले चुनाव व्यक्तिको अनुहार वा क्षणिक आकर्षणमा नभई नीति, कार्यक्रम र दीर्घकालीन दृष्टिकोणमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
यस्तै शहरी राजनीतिको समीकरणबारे उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव घट्दो क्रममा रहेको दाबी गरे।
सहकारी ठगी जस्ता विवाद र संगठनात्मक कमजोरीले रास्वपाको सुरुआती आकर्षण कम भएको उनको विश्लेषण छ।
यता नेपाली कांग्रेसलाई भने उनले ‘साइलेन्ट शक्ति’ को संज्ञा दिए। प्रचारमा कम देखिए पनि तल्लो तहमा कांग्रेसको बलियो आधार रहेको भन्दै उसलाई कमजोर ठान्नु रणनीतिक भूल हुने पनि उनले चेतावनी दिए।
आफ्नो उम्मेदवारी रहने दाङबारे पोखरेल विगतमा झिनो मतान्तरले पराजित भए पनि यसपटक जनताले आफूलाई राष्ट्रिय नेतृत्वका रूपमा स्वीकार गर्ने विश्वास व्यक्त गरे।
दाङको फोरलेन सडक निर्माणमा आफूले बजेट विनियोजन गराउन निर्णायक भूमिका खेलेको दाबी गर्दै उनले त्यसलाई जिल्लाको ‘गेम चेन्जर’ आयोजना बताए।










