माघ २१, काठमाडौं ।।
बुधबार(आज)फेब्रुअरी ४ तारिख विश्व क्यान्सर दिवस विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
क्यान्सरप्रति सचेतना अभिवृद्धि, समयमै पहिचान र उपचारमार्फत मृत्युदर घटाउने उद्देश्यका साथ प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।
‘अर्बुद रोग’ भनेर चिनिने क्यान्सर नसर्ने रोगमध्ये सबैभन्दा जटिल र घातक मानिन्छ । तर चिकित्सकहरूका अनुसार समयमै परीक्षण र उपचार सुरु गर्न सके क्यान्सरको जोखिमलाई निकै हदसम्म कम गर्न सकिन्छ ।
कतिपय क्यान्सर प्रारम्भिक अवस्थामै निको पनि हुने बताइन्छ । नेपालमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरका क्यान्सर प्रमुख रूपमा देखिने गरेका छन् ।
यसबाहेक मुखलगायत शरीरका अन्य अंगमा पनि क्यान्सरको समस्या बढ्दो छ । नियमित स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्तिका कारण धेरै बिरामी ढिलो चरणमा मात्रै अस्पताल पुग्ने गरेका छन् । यसले उपचार जटिल र खर्चिलो बनाउने गरेको चिकित्सकहरूको भनाइ छ ।
जाँडरक्सी, सुर्तीजन्य पदार्थको सेवन, धुमपान, अस्वस्थ जीवनशैली, प्रदूषण र वंशाणुगत कारण क्यान्सरको मुख्य जोखिमका कारक मानिन्छन् ।
नेपालमा हरेक वर्ष करिब २६ देखि ३० हजार नयाँ क्यान्सर बिरामी थपिने तथ्याङ्क छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार विश्वभर वार्षिक झन्डै १० लाख मानिसको ज्यान क्यान्सरकै कारण जाने गरेको छ ।
रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. अजयकुमार झाका अनुसार, “क्यान्सर बेलैमा पत्ता लागे उपचार सम्भव हुन्छ ।
अहिले देशभित्रै पनि उपचारका पर्याप्त सुविधा उपलब्ध छन्, तर सचेतनाको कमीले धेरै बिरामी ढिलो अस्पताल पुग्ने गरेका छन् ।”
त्यस्तै स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले सरकारले क्यान्सरलगायत आठ प्रकारका गम्भीर रोगको उपचारका लागि ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ मार्फत आर्थिक सहुलियत प्रदान गर्दै आएको जानकारी दिँदै जनचेतना र उपचार सेवालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।












