माघ २९, पोखरा ।।
निर्वाचनको मिति नजिकिँदै जाँदा सूचना प्रवाहको विश्वसनीयता, तथ्यपरकता र संवेदनशीलता झन् महत्वपूर्ण बन्दै गएको छ ।
यही सन्दर्भमा कास्कीका पत्रकारहरूका लागि नेपाल पत्रकार महासंघको आयोजना र प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा भएको निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने विशेष तालिम बिहीबार(आज) सम्पन्न भएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचनलाई “लोकतन्त्रको उत्सव” को संज्ञा दिँदै यस्तो उत्सवलाई स्वच्छ, शान्त र निष्पक्ष बनाउन सञ्चारमाध्यमको भूमिका निर्णायक हुने बताइन् ।
उनले पत्रकारले निर्वाचनका बेला थप जिम्मेवार, संवेदनशील र निष्पक्ष भएर सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै महासंघ कास्कीले समयसापेक्ष तालिम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरिन् ।
तालिममा सहभागी पत्रकारहरूले पनि यस तालिमलाई अत्यन्त उपयोगी र समयसापेक्ष भएको प्रतिक्रिया दिएका छन्।
सहभागीहरू शिशिर पौडेल, खिमा गुरुङ र तिलक पुनले निर्वाचन प्रक्रिया, कानुनी पक्ष, आचारसंहिता र जोखिम व्यवस्थापनबारे व्यावहारिक ज्ञान हासिल भएको उल्लेख गर्दै सिकेका विषयलाई कार्यक्षेत्रमा लागू गर्ने प्रतिबद्धता जनाए।
दुई दिनसम्म चलेको तालिममा निर्वाचनसम्बन्धी कानुन र प्रक्रिया, पत्रकार आचारसंहिता, आचारसंहिताको व्यवहारिक प्रयोग, निर्वाचन सुरक्षाको संवेदनशीलता तथा संकटको अवस्थामा सूचना सम्प्रेषण जस्ता विषयमा प्रस्तुतीकरण गरिएको थियो।

गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकाल, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, समाधान दैनिकका प्रधान सम्पादक भरत कोइराला, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डे तथा कास्की निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले विषयवस्तु प्रस्तुत गरेका थिए।
सो तालिमका सभाध्यक्ष नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भयरहित, धाँधलीरहित र पारदर्शी बनाउन स्वतन्त्र र उत्तरदायी पत्रकारिता अपरिहार्य हुने बताए।
उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै पत्रकारले देश र जनताको पक्षमा उभिने पत्रकारिता गर्नुपर्ने धारणा व्यक्त गरे ।
महासंघका सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीका अनुसार कास्कीका विभिन्न सञ्चारमाध्यममा आबद्ध ७५ जना पत्रकार तालिममा सहभागी भएका थिए।












