फागुन ४, पोखरा ।।
जिल्ला प्रशासन कार्यालय कास्कीले निर्वाचन केन्द्रित गतिविधि तथा राजनीतिक दलका कार्यक्रमलाई व्यवस्थित, अनुशासित र शान्तिपूर्ण बनाउन कडाइका साथ मापदण्ड लागू गर्न निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बसेको सर्वदलीय बैठकको निर्णयअनुसार जिल्लाभित्र हुने जुलुस, आमसभा, कोणसभा, बैठक तथा भेला जस्ता कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रूपमा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।
कार्यालयले आइतबार(हिजो) प्रेस विज्ञप्ति जारी गर्दै कुनैपनि राजनीतिक दलले कार्यक्रम आयोजना गर्दा कम्तीमा २४ घण्टा अगावै लिखित कार्यक्रमबारे मिति, समय, स्थान, मार्ग र सम्पर्क विवरण सहित प्रशासनलाई जानकारी दिनुपर्नेछ।

यस्तै प्रशासनले कार्यक्रम गर्दा बजार क्षेत्र, मुख्य सडक, चोक तथा व्यावसायिक स्थानमा अनावश्यक अवरोध नगर्न निर्देशन दिएको छ।
उक्त विज्ञप्तिमा व्यापार–व्यवसाय र यातायात सञ्चालनमा प्रत्यक्ष असर पर्ने स्थानमा कार्यक्रम नगर्न तथा उपयुक्त स्थान छनोट गर्न पनि आग्रह गरिएको छ।
एकै समय र स्थानमा फरक–फरक दलका कार्यक्रम जुध्न नदिन आपसी समन्वय गरी तालमेल मिलाउन पनि निर्देशन दिइएको छ।
विषेशगरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बद्ध पक्षले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रशासनले अपिल गरेको छ ।
कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न पुनः स्मरण गराउँदै आचारसंहिताविपरीत गतिविधि भए कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।
फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनलाई लिएर कास्कीमा निर्वाचन गतिविधि तीव्र बन्दै जाँदा प्रशासनको यस कदमले जिल्लामा सुरक्षा र व्यवस्थापनमा थप कडाइ ल्याउने अपेक्षा गरिएको छ।
यस्तै प्रशासनले सबै पक्षलाई सहकार्य र संयमताको मार्ग अपनाउन आग्रह गरेको छ।












