चैत ०५, पोखरा ।।
चितवनमा रगतको चरम अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरिप्रसाद पौडेलले रगतको अभाव भएको भन्दै रक्तदान कार्यक्रम गरिदिन अपील जारी गरेका छन् ।
चुनावपछि रक्तदान कार्यक्रमहरू नहुँदा रगतको अभाव सिर्जना भएको हो । चितवनमा दैनिक डेढ सय युनिट रगतको माग हुने गर्दछ, तर मागअनुसार आपूर्ति हुन सकेको छैन ।
प्रादेशिक रक्तसञ्चार केन्द्रका प्रमुख रमेशकान्त पौडेलकाअनुसार अहिले बिरामीका आफन्त र स्वयंसेवी रक्तदाताहरूको सहयोगमा मागपूर्तिको प्रयास गरिँदै आइएको छ ।
चितवनका दुई मेडिकल कलेज–भरतपुर अस्पताल र क्यान्सर अस्पताललगायत शल्यक्रिया हुने अस्पतालमा आकस्मिक रूपमा समेत रगत पुर्याउन कठिन भएको छ । क्यान्सरका बिरामी, सुत्केरी र दुर्घटनाका घाइतेलाई शल्यक्रियाका क्रममा रगतको विशेष आवश्यकता पर्दछ ।













