चैत्र २९, काठमाडौं ।।
भारतीय साङ्गीतिक क्षेत्रकी एक महान गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । स्वास्थमा समस्या देखिएपछि अस्पताल लगिएको उनको उपचारको क्रममा आइतबार(आज) निधन भएको हो ।
केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
गम्भीर अवस्थामा अस्पताल लगिएकी उनलाई शनिबार राति आईसीयूमा राखेर उपचार गरिएको थियो । तर उपचारको क्रममा आज मृत्यु भएको उनका छोरा निधन भोसले पुष्टि गरेका छन् ।
भारतको सांगली भन्ने शहरमा सन् ८ सेप्टेम्बर, १९३३ मा उनको जन्म एउटा संगीतसँग जोडिएको परिवारमा भएको थियो । भोसलेले मात्र ९ वर्षको उमेरदेखि नै व्यावसायिक गायन सुरु गरेकी थिइन्।
उनले आफ्नो करिअरको पहिलो गीत सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ गायकी थिइन् । यस्तै बलिउड फिल्ममा भने उनको पहिलो गीत सन् १९४८ मा चुनरिया भन्ने फिल्मको को ‘सावन आया’ रहेको थियो ।
यसरी ७ दशकभन्दा लामो करिअरमा उनले हजारौँ गीत गाएर भारतमा मात्र नभई विश्व संगीतमा समेत गहिरो प्रभाव छोड्न सफल भएकी थिइन्। उनका गीतहरू हिजो मात्र होइन आजका पुस्तामाझ पनि त्यति नै लोकप्रिय रहँदै आएका छन् ।
उनले गायका गीतहरू“दिल चीज क्या है” – उम्राओ जान, “दम मारो दम”- हरे राम हरे कृष्ण, “चुरा लिया है तुमने”- यादोकी बारात, “ओ हसीना ज़ुल्फों वाली”- तिश्री मन्जिल जस्ता फिल्महरूमा हजारौं कालजयी गीतमा जादुमयी आवाज दिएकी थिइन्।
यस्तै उनले थुप्रै नेपाली गीतमा समेत नेपाली पार्श्व गायनका रूपमा अमिट छाप छोडेकी छन् । भोसलेले नेपाली फिल्म ‘प्रेमपिण्ड’को ‘गैरी खेतको शिरै हान्यो’ गीतमा पहिलोपटक स्वर दिएकी थिइन् ।
यस्तै त्यसलगत्तै चिनोका लागि नारायणगोपालसँग गायको “मोहनी लाग्ला है”, ’‘स्वर्ग’को “दियो बाली साँझको” जस्ता नेपाली गीत पनि उत्तिकै लोकप्रिय छन् ।
उनले सबै गरेर आफ्नो करिअरमा २० भन्दा बढी भारतीय र विदेशी भाषामा गीत गाइन् । सन् २००६ मा उनले आफैं करिब १२ हजार गीत गाएको समेत बताएकी थिइन् ।
उनी ग्रामी अवार्डका लागि नामांकन पाउने पहिलो भारतीय गायिका पनि हुन् ।उनको निधनसँगै भारतीय संगीतले मात्र एक महान् गायिका होइन, एउटा सम्पूर्ण युग गुमाएको छ।













