वैशाख ७,काठमाडौँ।।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएपछि गृहमन्त्री सुधन गुरुङमाथि राजीनामाको दबाब तीव्र बनेको छ। यही दबाबबीच आइतबार राति गुरुङ रास्वपा सभापति रवि लामिछानेको बूढानीलकण्ठस्थित निवासमा पुगेका छन्।
भट्टसम्बद्ध ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात सार्वजनिक भएसँगै विवाद चुलिएको हो। अनुसन्धानको दायरामा रहेको कम्पनीमै गृहमन्त्रीको प्रत्यक्ष संलग्नता देखिँदा निष्पक्ष छानबिन प्रभावित हुनसक्ने भन्दै सत्तारूढ दल रास्वपाभित्रै राजीनामाको माग उठ्न थालेको छ।
सुरक्षा स्रोतका अनुसार गुरुङ बेलुकी करिब ८ बजे लामिछाने निवास पुगेका थिए र राति १० बजेतिर फर्किएका थिए। भेटका क्रममा त्यहाँ परिवारका सदस्य वा पार्टीका अन्य नेताहरू उपस्थित थिएनन्।
रास्वपा स्रोतका अनुसार भेटमा गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र सभापति लामिछानेबीच फोन संवाद गराउँदै आफूविरुद्ध बढ्दो दबाब कम गर्ने प्रयास गरेका थिए। यद्यपि लामिछानेले यस विषयमा औपचारिक धारणा पार्टी बैठकमै राख्नुपर्ने बताउँदै सोमबारको बैठकमा कुरा उठाउन सुझाव दिएका छन्।












