वैशाख १०, काठमाडौं ।।
बिहीबार(आज) बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । उक्त बैठकले विभिन्न तीन महत्त्वपूर्ण निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गरेको पहिलो निर्णय एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने एक सय पन्ध्र मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने भएको छ ।
यसअघि महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा २०७५ साल भदौ १ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयलाई उल्ट्याउँदै सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरिएको छ ।
त्यस्तै अर्को निर्णय भनेको सरकारी निकायमा भएका सफ्टवेयर तथा सूचना प्रविधि सम्बन्धी विषयमा अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन हुने भएको छ । तर आज बसेको उक्त मन्त्रिपरिषद् बैठकले अतिक्रमित सुकुमबासी बस्ती खाली गर्ने विषयमा भने कुनै छलफल नभएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।












