श्रावण ८,काठमाडौं।।
प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो १२ बजे हुने उक्त छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उद्योगी–व्यवसायीबाट सुझाव संकलन गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलका लागि नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई बोलाइएको छ।
सचिवालयका अनुसार पछिल्लो समय निर्यात घट्दै गएको र अर्थतन्त्र सुस्त बनेको सन्दर्भमा प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग प्रत्यक्ष संवादलाई तीव्रता दिएका हुन्। उनले लगानी बढाउने, उत्पादन विस्तार गर्ने र निर्यातलाई प्राथमिकतामा राखेर नीतिगत सुधारका लागि सुझाव लिने क्रमलाई निरन्तरता दिएका छन्।
प्रधानमन्त्री शाहले हिजो मात्रै चिया उद्योगीहरूसँग पनि यस्तै छलफल गरेका थिए। यसअघि हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता तथा तयारी पोसाक उद्योग संघलगायतका प्रतिनिधिहरूसँग समेत छलफल गरिसकेका छन्।








