पोखरामा ‘उज्यालो पाइला’ अभियान: टर्चलाइट र्‍यालीमार्फत मानव बेचबिखनविरुद्ध सशक्त सन्देश
  • सन्तोष पराजुली

साउन १५,पोखरा।।

पोखरामा मानव बेचबिखन तथा बाल यौन शोषणविरुद्ध जनचेतना फैलाउने उद्देश्यले ‘उज्यालो पाइला’ अभियान सञ्चालन गरिएको छ। जुलाई ३० मा मनाइने मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमले समुदायलाई सचेत बनाउने लक्ष्य राखेको छ।

पोखरा महानगरपालिका–२ को मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति (WCCHT) को आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिका तथा महिलामाथि हुने शोषण रोक्न स्थानीयस्तरमा सहकार्य अपरिहार्य रहेको सन्देश दिइएको थियो। “Together we watch, together we protect” भन्ने नारासहित कार्यक्रममार्फत सामुदायिक जिम्मेवारीलाई जोड दिइएको थियो।

वडा नम्बर २ का अध्यक्ष दिवसमान प्रधानङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्यहरू गोमा सुवेदी र सुनिता बिक, वडा सचिव याचना खवास तथा अनाहक संस्थाका प्रतिनिधिहरू कृष्ण सिग्देल, शिशिर बरुवाल र इन्दिरा पराजुलीको उपस्थिति रहेको थियो।

अभियानअन्तर्गत वडास्तरीय प्रतिनिधि, आमा समूह, युवा क्लब, विद्यालय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिएको थियो। सचेतनामूलक कार्यक्रम, छलफल तथा अन्तरक्रियामार्फत मानव बेचबिखनविरुद्ध सामूहिक जिम्मेवारी बहन गर्न आग्रह गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा अँध्यारोमा टर्चलाइट बालेर र्‍याली निकालिएको थियो, जसमा सयौँको सङ्ख्यामा नागरिकको सहभागिता रहेको थियो। उक्त र्‍यालीमार्फत “अपराधी जति लुकेर बसे पनि उज्यालोको सहाराले खोजेरै बाहिर ल्याइन्छ” भन्ने सशक्त सन्देश प्रवाह गरिएको थियो।

आयोजकका अनुसार यस्ता अभियानहरूले जोखिममा रहेका बालबालिका तथा महिलाको संरक्षणमा टेवा पुर्‍याउनुका साथै समाजमा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्