आज २२औँ विश्व अंगदान दिवस, जनचेतना मूलक कार्यक्रमको आयोजना गरी मनाइँदै
  • प्रमुख खबर

साउन २८, काठमाडौं ।।

आज २२औँ विश्व अंगदान दिवस विभिन्न जनचेतना मूलक कार्यक्रमकोे आयोजना गरी मनाइँदैछ। विषेशगरी मानिसको मृत्युपछि आफ्नो अंग दान गरेर अर्को व्यक्तिलाई नयाँ जीवन दिने मानवीय भावनाबारे जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष अगस्ट १३ मा यो दिवस मनाइन्छ । यो दिवस सन् २००५ बाट मनाउन सुरु गरिएको हो ।

नेपालमा हरेक वर्ष हजारौँ मानिस मिर्गौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन् । तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावका कारण धेरै बिरामी उपचारको प्रतिक्षामा छन् ।

विशेषगरी मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्ने अभ्यास अझै कम छ । अहिले पनि नेपालमा हुने अधिकांश मिर्गौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट प्राप्त अंगमा निर्भर छ ।

अंग दानको प्रमुख चुनौतीहरू भनेको सामाजिक तथा धार्मिक भ्रम, अंगदानबारे पर्याप्त जानकारीको अभाव नै रहेको छ । पछिल्लो समय नेपालमा अंग प्रत्यारोपणको कानुनी र प्राविधिक आधार विस्तार भएपनि आवश्यकता अनुसार अंग उपलब्ध हुन सकेको छैन । यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेख्य सफलता हासिल गरेको छ ।

नेपाल आँखा बैंकमार्फत हजारौँ आँखाका नानी संकलन तथा प्रत्यारोपण भइसकेका छन् । यसबाट दृष्टिविहीन व्यक्तिले नयाँ ज्योति पाएका छन् । सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई ७५ हजार रुपैयाँ अनुदान दिने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्