भदौ १९, पोखरा ।।
गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्दै वर्तमान प्रदेश सरकारबाट एमाले बाहिरिएको हो ।
एमालेबाट प्रतिनिधित्व गरि सरकारमा गएका चार जना मन्त्रीहरुले बुधबार(आज) मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सामुहिक राजिनामा पत्र बुझाएका छन्।
पाण्डे नेतृत्वको वर्तमान सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपाली, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका थिए ।
यसअघि मंगलबार बसेको एमालेको प्रदेश संसदीय दलको बोर्ड बैठकले कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको थियो । बोर्डको सो निर्णयलाई आज विहान बसेको प्रदेश संसदीय दलको बैठकले सदर गरेको थियो । सोही अनुरुप उनीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएको हो ।
यसअघि अन्य प्रदेशमा एमाले–नेकपा गठबन्धन अनुसार सरकार बने पनि गण्डकीमा भने कांग्रेस नेतृत्वको सरकारमा एमालेले समर्थन गरिरहेको थियो । राजिनामा पत्र बुझाउँदै एमालेबाट सरकारको नेतृत्व गरेका गोविन्दबहादुर नेपालीले पार्टी र संसदीय दलको निर्णय अनुसार आफूहरुले राजिनामा दिएको बताए ।
राजिनामा पत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले सरकारमा रहेर सहकार्य गरेकोमा मन्त्रीहरुलाई धन्यवाद दिए । एमालेका मन्त्रीहरुले सरकार छाडे पनि मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिन भने नपर्ने भएको छ ।
एमालेले पहिले पनि विश्वासको मत नदिएको तथा पहिले सरकार बनाउँदा साथ दिएका राप्रपा र माओवादीको चुनावचिह्नबाट निर्वाचित नयाँशक्ति पार्टीका फडिन्द्र देवकोटाले समर्थन यथावत राखेकाले पाण्डेलाई विश्वासको मत लिनुपर्ने बाध्यता नरहेको हो ।
६० सदस्यीय रहेको गण्डकी प्रदेश सभामा राजिव गुरुङ उर्फ दीपक मनाङे निलम्वित रहेकाले हाल ५९ सदस्यीय रहेको छ । जसमा कांग्रेसको २७ सहित राप्रपाको दुई र तत्कालीन माओवादीको चुनावचिह्नबाट निर्वाचित नयाशक्ति पार्टीका सांसद फडिन्द्र देवकोटाको समर्थन यथावत रहेकाले पाण्डेको बहुमत यथावत छ भने अहिलेसम्म कसैले पनि समर्थन फिर्तासमेत नलिएकाले तत्काल विश्वासको मत पनि लिनुपर्दैन ।







