त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालक दाबा लामा नभई अर्जुन दोङ
  • प्रमुख खबर

असोज ६,काठमाडौं।।

त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले उनको वास्तविक पहिचान सार्वजनिक गरेको छ। मृतक चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीका बासिन्दा हुन्। उनको जन्ममिति २०५७ साल कात्तिक ७ गते रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकस्थित बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसभित्र दोङले आगो लगाएका थिए। ट्राफिक प्रहरीसँग भएको विवादपछि उनले आफूले चलाएको बसभित्रै आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
आगलागीमा परी गम्भीर घाइते भएका दोङलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो। दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएका उनको गएराति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट दाबा लामाको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र फेला परेपछि प्रहरीले सुरुमा मृतकलाई दाबा लामा भएको जानकारी दिएको थियो। तर थप अनुसन्धानका क्रममा उनको वास्तविक पहिचान अर्जुन दोङ तामाङ रहेको खुलेको हो।

प्रहरीका अनुसार दोङ यसअघि पनि अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र प्रयोग गरेका घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

२०८२ साल कात्तिकमा बालाजुमा बस पल्टिँदा तीन जना घाइते भएको घटनामा पनि दोङ संलग्न रहेको र घटनापछि फरार भएको प्रहरीको भनाइ छ। उक्त घटनामा उनले सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, करिब तीन महिनाअघि मुलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्रिपुरेश्वर घटनामा भने उनले दाबा लामाको नाममा रहेको अनुमतिपत्र प्रयोग गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दोङले दाबा लामाको नाममा रहेको बैंक खाता र नागरिकतासमेत प्रयोग गरेको हुन सक्ने तथ्य अनुसन्धानका क्रममा फेला परेका छन्। अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र, सवारीचालक अनुमतिपत्र तथा सरकारी कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्