शपथको व्यहोरामा ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइयो, शपथ लिँदा र गराउँदा नेपाली भाषाका अलावा मातृभाषामा लिन पाइने
  • प्रमुख खबर

सार्वजनिक पद तथा गोपनीयताको शपथ लिँदाको व्यहोरामा यसअघि कायम रहेको ‘प्रतिज्ञा गर्छु’ शब्द हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने वाक्य भन्न अस्वीकार गरेका थिए ।
राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ उच्चारण गर्न लगाए पनि ओलीले ‘त्यो पर्दैन’ भनेका थिए । त्यसको एक हप्तापछि विहिवारको मन्त्रिपरिषद् बैठकले शपथसम्बन्धी अध्यादेश स्वीकृत गरी राष्ट्रपति कार्यालय पठाएको थियो ।
मन्त्रिपरिषद्को सिफारिस बमोजिम ‘शपथ सम्बन्धी अध्यादेश–२०७८’ जारी भएपछि यसअघि ग्रहण गरिएको शपथको व्यहोरा यसै बमोजिम भएका मानिने उल्लेख छ । यसअघिको शपथको व्यहोरा ‘सम्बन्धी पदको कामकाज प्रचलित कानुको अधिनमा रही’ भन्ने रहेको थियो । नयाँ अध्यादेशमा ‘अधिनमा रही’ भन्ने शब्द हटाएर ‘प्रचलित कानुको पालना गरी’ भन्ने वाक्य थपिएको छ ।
त्यस्तै ‘मुलुक र जनताको सोझो चिताइ’ भन्ने वाक्य हटाएर ‘मुलुक र जनताको भलो चिताइ’ भन्ने शब्द थपिएको छ । अब शपथ लिँदा र गराउँदा नेपाली भाषाका अलावा मातृभाषामा पनि शपथ लिन पाइने भएको छ । शपथ लिन र गराउन भने औपचारिक पोसाक अनिवार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्