पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • प्रमुख खबर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन कार्यक्रमलाई थप व्यवस्थित बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

पोखरा महानगरपालिकाको संयोजनमा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सहित तिन वटै सुरक्षा निकायका प्रमुखहरू, जिल्ला स्थित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पोखरा उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ, पर्यटन व्यवसायीहरू, खेलकुदसँग सम्बन्धित सरोकारवालाहरू लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भन्दै यसको उद्घाटन कार्यक्रमलाई व्यवस्थित रूपमा भव्य र सभ्य बनाउनु पर्ने बताउनुभयो । यो दशकौँ लामो पोखरेलीहरूको सपना मात्र नभए पश्चिम क्षेत्र कै लाइफलाइनका रूपमा रहेको विमानस्थल भन्दै यसको कुशल र व्यवस्थित सञ्चालन महत्त्वपूर्ण हुने बताउनुभयो ।

यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत यो विमानस्थल कोशेढुंगा साबित हुने उहाँको विश्वास छ । अन्तर्राष्ट्रिय सहरहरूसँग हुने पोखराको सिधा सम्पर्कले पोखरा प्रवर्द्धनमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सन २०२३ को पहिलो दिन नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुने सो कार्यक्रममा उत्साहजनक सहभागीताका लागि आमपोखरेलीहरुलाई उहाँले आह्वान समेत गर्नुभयो ।

कार्यक्रमका सहभागीहरूले विमानस्थलको उद्घाटन कार्यक्रमलाई आ–आफ्नो क्षेत्रबाट भव्य बनाउन विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्