राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै मदरल्याण्ड
  • प्रमुख खबर

पोखरा ।।
शिक्षाको उज्यालो छर्दै देशदेखि विदेशसम्म आफ्नो पृथक पहिचान बनाएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोत्कृष्ट नतिजाको इतिहास कायम राख्दै अगाडि बढेको छ । यसले लिएको कार्यशैली तथा समसामयिक शिक्षण गतिविधिका कारण गुणस्तरीय प्रतिस्पर्धी शिक्षासँगै आफ्नो चौतर्फी विकासका लागि विद्यार्थीहरूले मदरल्याण्डलाई नै रोज्ने गरेको अभिभावकहरूको भनाइ छ ।

राष्ट्रिय शैक्षिक क्षेत्रमा दस जोड दुईपछिको उच्च शिक्षाअन्तर्गत यस विद्यालयबाट प्लस टु गरेका मेडिकलतर्फ एमविविएसमा हरेक वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरूमध्ये सविन आचार्यले प्रवेश परीक्षामा दोस्रो नम्बरमा नाम निकाल्न सफल भएका थिए । त्यसै गरी एमबिबिएसमै एकै वर्ष एउटै परिवारका दाजुबहिनी जनक दाहाल र सम्झना दाहालले पूर्ण छात्रवृत्तिमा नाम निकालेर इतिहास रचेका थिए । यसरी एकपछि अर्को इट्टा थपिँदै जाँदा स्नातक तहतर्फ बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी एजी, फरेस्ट्री, बिफर्मा, भेटेरिनरी जस्ता सङ्कायमा पनि हरेक वर्ष पूर्ण छात्रवृत्तिमा नाम निकालेर उच्च शिक्षाको ढोका खोल्नेहरू धेरै रहेको विद्यालय स्रोतले बताएको छ ।

कक्षा दसको अन्तिम परीक्षा एसईईमा एकै वर्ष सात जनाले चार जिपिए ल्याएर राष्ट्रिय स्तरमै सर्वोत्कृृष्ट विद्यालयका रूपमा पुरस्कार जितेको मदरल्याण्डबाट दस जोड दुई सकेका विद्यार्थीहरूले इन्जिनियरिङतर्फ पनि विभिन्न विषयमा हरेक वर्ष बिसौँको सङ्ख्यामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको कुरा विद्यालयका दस जोड दुईका इन्चार्ज नारायण आचार्यले बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो परिचय बनाइसकेको यस विद्यालयबाट यस वर्ष कक्षा बाह्रको बोर्ड परीक्षामा गण्डकी प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुङ्गानाले अमेरिकाको विश्वप्रसिद्ध हार्बर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेर नेपालकै गरिमा बढाएको कुरा बताइएको छ । साथै कलेज तथा विश्व विद्यालयको इतिहासमा सबैभन्दा कम प्रवेशदर भएको दोस्रो वर्षमा पनि आफू छनोट भई सबैले चिनेको प्रख्यात विश्व विद्यालयमा स्नातक अध्ययनको अवसर पाएकामा खुसी भएको र सफलतापूर्वक उक्त तह पूरा गर्ने चुनौती पनि थपिएको कुरा सम्राटले व्यक्त गरेका छन् ।

यसका साथै लागभग एक वर्षको अवधिमा यस विद्यालयबाट कक्षा बाह्र पास गरेर गएका विद्यार्थीहरूमध्ये सम्राटलगायत चौध जनाले विश्वको नाम चलेका विश्व विद्यालय तथा कलेजबाट उच्च शिक्षाका लागि करिब साठी करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको कुरा इन्चार्ज आचार्यले बताउनुभएको छ ।

सहकार्यकलाप किताबी सैद्धान्तिक ज्ञानलाई दिगो रूपमा बुझ्न अपरिहार्य छ भन्ने यस विद्यालयले यस वर्ष मात्रै गणित हाजिरीजवाफमा कक्षा दस र ११÷१२ दुबै तहमा प्रदेश प्रथम भई आफूलाई गणितभूमिका रूपमा उभ्याएको थियो । कविता, निबन्ध, वक्तृता, हाजिरीजवाफ आदि जस्ता सहकार्यकलाप अन्तर्गत नेपाली र अङ्ग्रेजी दुबै भाषामा जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमै प्रथम स्थान हाँसिल गरेको ताजा इतिहास विद्यालयको रहेको बताइएको छ ।

साथै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि थुप्रै पुरस्कार जितेको यस विद्यालयबाट २०२२ मा शिक्षा, खेलकुद, संस्कृति, विज्ञान तथा प्रविधि मन्त्रालय जापानसँगको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा दुई जना विद्यार्थीहरूले सान्त्वना स्थान हात पारेका थिए । उक्त प्रतियोगितामा करिब बिस हजार निबन्धको सहभागिता रहेको थियो । त्यस्तै २०२२ मा नै नोट्रे ड्याम अलुम्नाई मर्थ अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा यस विद्यालयबाट विद्यार्थीहरू सहभागी भई प्रथम, तृतीय र सान्त्वना स्थान हात पारेका थिए भने जिस्ट इन्टरनेस्नल फाउन्डेसनको आयोजना र एडामस विश्व विद्यालय कलकत्ताको सहकार्यमा आयोजित युवा जलवायु परिवर्तन सम्मेलनमा समूहगततर्फ प्रस्तुतीकरणमा दोस्रो र राष्ट्रिय जलवायु रिपोर्टमा प्रथम पुरस्कार हासिल गर्न सफल भएका थिए । त्यसै गरी सोही कार्यक्रममा व्यक्तिगत विधातर्फ जलवायु महासभाको अन्तरक्रियामा उत्कृष्ट वक्ताको रूपमा पुरस्कृत भएका थिए भन्ने कुरा विद्यालयका अङ्ग्रेजी शिक्षक तथा विद्यार्थी व्यक्तित्व परामर्शकर्ता बामनकुमार घिमिरेले जानकारी दिनुभयो । .यसका साथै उहाँले जिस्टको आयोजना तथा युएनडिपी, युनिसेफ र अमेरिकी दूतावास र ढाकाको सहकार्यमा बङ्गलादेशमा हालै आयोजित भविष्यको शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलनमा यस विद्यालयको कक्षा १२ मा अध्ययनरत हार्दिक पराजुलीले सोह्र देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ट वक्ताका रूपमा पुरस्कृत भएका थिए भन्ने कुरा बताउनुभयो ।

विद्यालय सामाजिक संस्था हो भन्ने कुरालाई राम्ररी बुझेको मदरल्याण्डले विद्यार्थीहरूलाई व्यावहारिक सिप विकास तथा समाजिक कार्यमा पनि सहभागी गराएको पाइन्छ । नेतृत्व सिप तथा परोपकारी भावनाको विकासका लागि विद्यालयमा गठित काइन्डनेस क्लब, स्काउट, बर्थडे बैङ्क र रेडक्रस जस्ता बाल सङ्गठनका माध्यमबाट सामाजिक कार्यमा विद्यार्थीहरूलाई सहभागी गराएको छ । यसअन्तर्गत विद्यार्थी प्रत्यक्ष सहभागी भई सामुदायिक विद्यालयमा आर्थिक तथा शैक्षिक सामग्रीको सहयोग गर्ने गरेको र आर्थिक रूपमा विपन्न, अशक्त, रोगी, अपाङ्गलाई एवम् बाल तथा वृद्धाश्रममा गई खाद्यान्न तथा आर्थिक सहयोग गर्दै आएको कुरा विद्यालय स्रोतले जनाएको छ । यसले विद्यार्थीहरूमा दयाको भावनाको विकास हुनुका साथै व्यावहारिक बन्न पनि सहयोग मिल्ने कुरा नेपाल स्काउट क्लब मदरल्याण्डका शिक्षक सहजकर्ता विनीत छन्त्यालले जानकारी दिनुभयो । यसै सन्दर्भमा विद्यालयले विशेष गरी एसईई दिएर बसेका विद्यार्थीहरूलाई हरेक वर्ष व्युटिसिएन, बारिस्ट्रा, इलेक्ट्रिक, प्लम्बिङ तथा कम्प्युटर कोडिङ जस्ता छोटो समयका आत्मनिर्भर बन्ने सिपहरू निशुल्क प्रदान गर्दै आएको कुरा विद्यालयका एकेडेमिक कोअर्डिनेटर अनुप आचार्यले विद्यालयको एक कार्यक्रममा बताउनुभएको छ ।

भौतिक पूर्वाधारले सुविधा सम्पन्न मदरल्याण्डले अघिल्लो वर्षदेखि अत्याधुनिक फुटसल कोर्टको निर्माण गरी विद्यार्थीहरूलाई फुटसल खेलका बारेमा विशेष प्रशिक्षण दिँदै आएको छ । यसका साथै यसै वर्ष एसईई दिएर बसेका विद्यार्थीहरूबिच प्रदेश स्तरीय फुटसल प्रतियोगिता पनि सम्पन्न गरेको थियो । शैक्षिक उपलब्धिका पछाडि जोडिएको खेलकुदलाई पनि विशेष महत्त्व दिएको मदरल्याण्डले समयसमयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरू बोलाएर शिक्षक कर्मचारीलाई शिक्षण सम्बन्धी तालिम तथा वर्कसपहरू सञ्चालन गर्दै आएको कुरा प्राचार्य नारायण बरालले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्