काठ्माण्डौं ।
अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत विहीबार पार्टीबाट अलग भएको घोषणा गरेका हुन् । उनले फेसबुकमा स्टाटस लेख्दै, २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनदेखिको पार्टीमा आफ्नो संलग्नता एंव ५० वर्षदेखिको पारिवारिक बिरासत गाँसिएको कांग्रेसबाट अलग हुने घोषणा गरेको जानकारी दिएका छन् ।
उनले यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र पछिल्लो १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको जानकारी गराएका छन् ।
राष्ट्रिय योजना आयोगमा सुशील कोइराला र शेर बहादुर देउवा दुबैले दिएको जिम्मेवारी आफुले कौशलका साथ सम्पन्न गरेर देशको मान राख्न सकेकोमा गर्व लागेको बताएका छन् । तर पछिल्लो समय पार्टीभित्रका गतिविधिहरु नियाल्दा स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको उनले उल्लेख गरेका छन् ।
जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई(भाउजु(साला(भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेको भन्दै वाग्लेले आफ्नो स्टाटसमार्फत दुःख व्यक्त गरेका छन् ।
उनले अब कांग्रेस(कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् । उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने जनाएका छन् ।