राष्ट्रपतिबाट १२ जना नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ
  • प्रमुख खबर

काठ्माण्डौं ।

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १२ जना मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १(१ जनालाई मन्त्री नियुक्त गरेका छन् ।

उपप्रधान एवम् रक्षा मन्त्रीमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, डा। प्रकाशशरण महत अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकास मन्त्री सीता गुरुङ भएका छन् ।

यस्तै जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन् भने यसअघि भौतिक पूर्वाधार मन्त्री सम्हाल्दै आएका नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र सङ्घीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्