पोखरा ।
माओवादी, राप्रपासहितको समर्थनमा पौष २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका एमालेका खगराज अधिकारीको सरकार बैशाख ९ गते ढलेसँगै यस प्रदेशमा मुख्यमन्त्री को बन्ने भनेर माओवादी र नेपाली कांग्रेसबीच असम्झदारी पैदा भएको छ ।
गण्डकी प्रदेश सभामा कुनै राजनीतिक दलको स्पष्ट बहुमत नहुँदा संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बनाउनुपर्ने भएकाले माओवादी र कांग्रेसबीच मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा असम्झदारी पैदा भएको हो ।
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले संविधानको धारा १३८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि दिएको समय आज अपराह्न ४ बजे सकिदैछ । समय सकिनुअघि नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमत सरकारको मुख्यमन्त्री नियुक्त हुने भएका छन् ।
यद्यपी गण्डकीमा शीर्ष तहमै कांग्रेस र माओवादीले आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।यता, कांग्रेस निकट स्रोतका अनुसार पहिलो चरणमा आफुहरुको पार्टीले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको जनाएको छ । तर नेकपा माओवादी केन्द्रका अनुसार पहिले कसले दाबी गर्ने भनेर आधिकारिक निर्णय अझै नआएकाले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री को बन्छ भन्नेमा अन्यौल नै रहेको जनाइएको छ ।
यद्यपी दुइपटक प्रदेशको मन्त्री भइसकेको हरिब बहादुर चुमानले मुख्यमन्त्री बन्ने अडान लिएपनि केन्द्रको निणर्य कुरिरहेको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले पहिलो चरणमा नपाए पनि ७ मध्ये ३ मन्त्रालय पाउनुपर्ने दाबी पनि गरिरहेको छ ।माओवादीबाट मुख्यमन्त्री नै बन्ने भएकाले चुमान मन्त्री नबन्ने र यसअघि नै पर्यटनमन्त्रीबाट राजीनामा दिएका रेशमबहादुर जुग्जाली भने मन्त्री बन्ने पक्का छ ।
प्रमुख सचेतकबाट छोडेर गोरखाकी सुशीला सिम्खडा मन्त्री बन्ने चर्चा पनि माओवादीमा छ ।३ मन्त्रालय पाउँदा माओवादीको चुनाव चिह्न लिएर जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले पनि मन्त्री हुने मौका पाउने सम्भावना छ ।
आज मुख्यमन्त्रीसँगै कांग्रेसबाट १ जना र माओवादीबाट १ जना गरी ३ जनाले शपथ लिने तयारी भइरहेको एक कांग्रेस सांसदले बताएका छन् ।












