गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे, सपथ ग्रहण भने भोलि शुक्रबार हुने
  • प्रमुख खबर

पोखरा ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १३८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

गोरखा क्षेत्र नम्बर २ (२) प्रदेश सभा सदस्य चुनिएका पाण्डेले नेपाली कांग्रेससहित माओवादी केन्द्र र स्वतन्त्र सांसद हाल एकीकृत समाजवादी प्रवेश गरेका दिपक मनाङेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ भने शुक्रबार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । गत वैखाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही अनुरुप नेपाली काँग्रेसका २७, नेकपा९माओवादी केन्द्र०का सात र स्वतन्त्र एक गरी ३५ सांसदको हस्ताक्षरसहित पाण्डेले गण्डकीको मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।

दाबी पेश गरेको केहि समयपछि नै प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि केन्द्रमा सत्ता समीकरण बदलिएका कारण माओवादीले समर्थन फिर्ता लिएपछि नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले पहिलो पटक विश्वासको मत पाएपनि दोश्रो पटक भने पाएनन् । त्यसपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको लागि आज दिउँसो ४ बजेभित्र दावी पेश गर्न समयसीमा दिएका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । पाण्डेले प्रदेश प्रमुखले दिएको समयसीमा भित्र नै बहुमत जुटाउन सफल भएका हुन् । यस्तै पहिलो कार्यकाल कांग्रेसले पाएको मुख्यमन्त्री दोश्रो कार्यकालमा भने माओवादीले पाउने सहमति भएको बताइएको छ ।

यसअघि माओवादीले पहिलो कार्यकाल नै मुख्यमन्त्रीमा दाबी गर्दै आएको थियो । तर केन्द्रीय स्तरमै सहमति भएपछि माओवादी गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन सहमत भएका थिए ।

त्यस्तै सरकारको नेतृत्वबारे टुंगो लागेपनि गठबन्धनबीच मन्त्रालय भागवण्डा भने टुंगिसकेको छैन । सात मन्त्रालय कायम राख्ने सहमति भएपनि कसले कुन मन्त्रालय लिने भन्नेबारे सहमति नभईसकेको मुख्यमन्त्री निकट श्रोतले जनाएको छ ।

यद्वपी कांग्रेसले ४ र माओवादीले ३ मन्त्रालय लिने सहमति भएको नेकपा माओवादी गण्डकी प्रदेश संसदीय दलका सचेतक सुशीला सिंखडाले जानकारी दिईन् । गठबन्धनको अर्को दल नेकपा एसलाई मन्त्री दिने कि नदिने भन्ने टुंगो नलागेको श्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्