मदरल्याण्डमा विद्यार्थीलाई म्यकबुकसहितको सम्मान
  • प्रमुख खबर

पोखरा ।।
विद्यार्थीमा रहेको प्रतिभा तथा सिक्ने इच्छाशक्तिलाई अझ सुदृढ बनाउने उद्देश्यले पोखराको मदरल्याण्ड माविमा शुक्रबार विद्यार्थी सम्मान गर्दै प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिता विद्यालयको प्राङ्गणमा एक समारोहबिच उद्घाटन गरियो ।

विशेष गरी मदरल्याण्डबाट कक्षा १२ सकेर उच्च शिक्षाका लागि नाम चलेका विदेशी कलेज तथा विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई विद्यालयमा सम्मानपत्र, माला र दोसल्लाले सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीहरू सम्राट ढुङ्गाना हार्वड विश्वविद्यालय, ओस्कार दियाली कर्नेल कलेज अमेरिका, विभूषी तिमिल्सिना र दीक्षा गिरी स्वीट बेरियर कलेज अमेरिका, निशान्त चौधरी साउथ्रन मिसिसिपी विश्वविद्यालय अमेरिका, सन्देश आचार्य हाइनान नर्मल विश्वविद्यालय चिन, आलोक पौडेल मिसनिज स्टेट विश्वविद्यालय अमेरिका र प्रशान्त भण्डारी नेस्नल मेडिकल कलेज नेपाल रहेका छन् भने सम्राट ढुङ्गानालाई इतिहास नै रच्न सफल भएकाले पछिल्लो संस्करणको म्याकबुक अमेरिकाबाटै मगाएर थप सम्मान स्वरूप प्रदान गरिएको थियो। यस वर्ष मात्र विद्यालयबाट दस जोड दुई पूरा गरेका चौध जना विद्यार्थीहरूले अकेरिकामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको कुरा विद्यालयस्रोतले बताएको छ। यीबाहेक अरूसबैलाई विद्यालयले पहिले नै सम्मान गरिसकेको थियो।

प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कूलपति प्रध्यापक डा.गणेशमान गुरुङले आफ्नो अतीत सम्झँदै सम्मानितलाई बधाई तथा शुभकामनाका साथ विश्व चर्चित विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएर अध्ययन गर्ने नेपाली विद्यार्थीहरू बिरलै भएका र तीमध्ये मदरल्याण्डबाट यति धेरै विद्यार्थीले विदेशका विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाएकामा प्रशंसा गर्नुभयो । साथै यसरी विद्यार्थी केन्द्रित प्रयोगात्मक शिक्षामा विशेष जोड दिइने भएकाले अहिले धेरै विद्यार्थी विदेश अध्ययनमा जाने गरेको पनि बताउनुभयो ।

यसै अवसरमा विद्यालयले भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरेको गण्डकी प्रदेश स्तरीय गणित हाजिरी जवाफ प्रतियोगिताको पनि सोही समारोहमा उद्घाटन गरियो । शुक्रबार र शनिबार चल्ने उक्त प्रतियोगतामा गण्डकी प्रदेशभरिबाट चालिस समूहले भाग लिएको कुरा कार्यक्रम संयोजक तथा गणित शिक्षक विष्णु गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो दिन शुक्रबार सहभागी सम्पूर्ण विद्यार्थीलाई हाजिरी जवाफसम्बन्धी अभुमुखीकरण गरिएको थियो ।

विद्यालयका अङ्ग्रजी विषयका विभागीय प्रमुख बामनकुमार घिमिरेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्राचार्य नारायण बराल, निर्देशक त्रिभुवन शर्मा तथा सम्मानित विद्यार्थी सम्राट ढुङ्गानालगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्