पोखरा ।।
बर्षातको कारणले बन्द भएको बेनी–जोमसोम सडक आज सञ्चालन भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी, सिरुबारी, अन्नपूर्ण गाउँपालिकाको महभिर, गुइठेभिरमा पहिरो खसेपछि ७४ किलोमिटर दूरीको बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको थियो । घरपझोङ गाउँपालिका–३ स्थित मार्फाखोलाको बाढीले सडकको मुस्ताङ खण्ड पनि अवरुद्ध भएको थियो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले वर्षा रोकिएपछि पहिरो पन्छाएर आज अपराह्नदेखि यातायात सञ्चालन गरिएको जानकारी दिए । “मार्फाखोलामा डाइभर्सन र अस्थायी पुल बनाएर मुस्ताङ खण्डमा यातायात सञ्चालनको व्यवस्था मिलाएका छौँ”, उनले भने, “म्याग्दी खण्डमा खसेको पहिरो सडक विभागको डोजर, लोडर र प्राविधिक टोली परिचालन गरेर पन्छाएपछि बेनी–जोमसोम सडकको अवरोध हटेको बताए ।” बैसरीको पहिरो पन्छाउन र सडक मर्मतका लागि नेपाली, सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोली पनि परिचालन गरिएका थियो ।