डेङ्गी नियन्त्रणका लागि पाेखरा महानगरद्वारा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन
  • प्रमुख खबर

पाेखरा ।।
पोखरामा डेङ्गी सङ्क्रमणकाे जाेखिम उच्च रहेकाे छ । पछिल्लाे समय डेङ्गी सङ्क्रमण तीव्र बनेसँगै पाेखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा
सरसफाइ र सचेतनासहित डेङ्गी रोकथाममा जुटेका छन् ।

महानगरले डेङ्गी फैलाउने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरुवात गरेकाे हाे ।

सफा र जमेको पानीमा फुल पार्ने र लार्भा हुर्काउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो ।

प्रतेक शुक्रबार महानगरभित्रका सरकारी कार्यालय र सार्वजनिक स्थलहरुमा उक्त अभियान सञ्चालन गरिएको महानगर स्वास्थ्य महशाखाका सिअहेब अधिकृत अर्जुन क्षेत्रीले जानकारी दिएका छन् ।

पोखरा महानगरभित्रका ४० जनामा गत साउन तेस्रो साता एकैदिन डेङ्गी सङ्क्रमण पुष्टि भएपछि महानगरले डेंगी रोकथाम र नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

साेही निर्णय अनुसार महानगरभित्रका सबै सरकारी कार्यालयले प्रतेक शुक्रबार बिहान १० देखि १०ः ३० बजेसम्म ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्दै आएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

महानगरले सञ्चालन गरेकाे यस अभियानमा खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडा आदिमा पानी जम्मा हुन नदिन र त्यस्ता स्थल नष्ट गर्न सूचित गरिएको सिअहेब अधिकृत क्षेत्रीले बताएका छन् ।

उनका अनुसार जमेको सफा पानीमा बस्ने र दिउँसोमा मात्र मानिसलाई टोक्ने उक्त लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी नियन्त्रणको उत्तम उपाय भएको जानकारी दिएका छन्।

यस्तै डेङ्गीकै कारण शनिबार पोखराको एक अस्पतालमा ५२ वर्षीया महिलाको निधन भएको थियाे । यस घटनाले गर्दा पनि डेङ्गीबाट बच्न घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर, भाँडाकुँडा नराख्न र शरीर ढोक्ने गरी लुगा लगाउन उनले सुझाव समेत दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्