पाेखरा ।।
पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाेखरा अाएका छन् ।
उनी रास्वपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न पोखरा आएका हुन् ।
लामिछाने पोखरा आएसँगै सूर्य दर्शन सहकारीका पीडित बचतकर्ताहरुले बैठक स्थल पोखरा–१७ विरौटास्थित ग्यालेक्सी बैंक्यूट अगाडि उनलाई कालाे झण्डा देखाएका छन् ।
उनीहरु लामिछाने अाउनु अगाडि नै कार्यक्रम स्थलमा पुगेर नाराबाजी गरेका थिए ।
सहकारी पीडितहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण ?’ सहकारी ठग मुर्दावाद, जिवी राई कहाँ छ ? रविलाई थाहा छ, ए सरकार तेरो यो पाराले, दुःख पाए सहकारी पीडित साराले भन्दै नाराबाजि गरेका थिए ।
त्यस्तै उनीहरुले गोरखा मिडियामा हालेको सहकारीको रकम फिर्ता गर, सहकारीको पैसाले खोलेको टिभीले, बचतकर्ताको छातिमा लगायो टिवी, हाम्रो समस्या समाधान गर्न छिटो आउ जिवी, जिवि नआए सबैकुराको जिम्मा लेउ रविलगायतको नारा समेत लगाउँदै प्रर्दशन गरेका थिए ।
यसरी कालो झण्डा र प्ले कार्ड बोकेर नाराबाजी गरेका सहकारी पीडित बचतकर्ताहरुलाई निस्तेज गर्न ठूलो संख्यामा प्रहरी खटाइएको थियो । तर प्रहरीहरुका हस्तक्षेपका बाबजुद पनि उनीहरुले लामिछाने विरुद्ध कालाे झण्डा देखाई नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।
सूर्य दर्शन सहकारीले पोखराका १८ हजार ७ सय बचतकर्ताको झण्डैं १ अर्ब ३५ करोड रुपैयाँ ठगी गरेका थिए ।
सहकारीबाट जीवी राई (गितेन्द्रबाबु)अध्यक्ष रहेकाे गोर्खा मिडिया नेटवर्कको नाममा रहेकाे ग्यालेक्सी फोर के टेलिभिजनका लागि उक्त सहकारीबाट ३० करोड रुपैयाँ लिएको तमसुक र लामिछाने स्वयंका नाममा खाता खोलेर सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको प्रमाण पाेखरा महानगरपालिका छानबिन समितिले फेला पारेको थियाे ।