पाेखरा ।।
कास्कीको रुपा गाउँपालिका वडा नं. १ र ७ मा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास भएको छ ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर के.सी.ले संयुक्त रुपमा बिहीबार उक्त चक्रपथको दोस्रो खण्डको शिलान्यास गरेका हुन् ।
संघ र प्रदेश सरकारकाे बराबर रकम रहने गरि शिलान्यास भएको साे खण्ड ४७ करोड १८ लाख ९१ हजार लागतमा निर्माण हुने भएको छ ।
चक्रपथको शिलान्यास गर्दै पूर्व मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले यो सडक निर्माणमा प्राथमिकता दिएको र जस कारण प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताएका थिए ।
प्रदेश सरकारकै सहयोगमा आवश्यकता हेरी गाउँगाउँमा मोटरबाटो पुगेको उनले दाबी पनि गरेका छन् ।
त्यस्तै गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले चक्रपथ लगायतका विकास निर्माणमा प्रदेश सरकारको सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनले सडक निर्माण कार्यमा ढिलाइ नगर्न ठेकेदार कम्पनीलाई समेत निर्देशन दिएकाे जानकारी दिए ।
यस्तै रुपा-गाउँपालिकाका अध्यक्ष नवराज ओझाले साे सडक निर्माणपछि लमजुङ, तनहुँ र कास्कीका सर्वसाधारणका लागि आवागमनमा सहज हुने विश्वास व्यक्त गरे ।
उनले चक्रपथको बाँकी ३५ किलोमिटर सडकलाई पनि समपन्न गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई आग्रह पनि गरे।