रास्वपाका कार्यकर्ताले फैलाएको भ्रम चिर्न सहकारी बचत पीडितहरुले बिहीबार प्रदर्शन गर्ने
  • प्रमुख खबर

पाेखरा ।।
सहकारी बचतकर्ता पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको भावनामाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

पोखराको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिले आज विज्ञप्ती जारी गर्दै रास्वपाले आफूहरुको मुद्धा बोकेजस्तो र नारा लगाएजस्तो गरेर पीडितहरुलाई भ्रमित गर्ने काम गरेको आरोप लगाएको हो ।

समितिले बुधबार जारी गरेकाे विज्ञप्तिमा सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बचाउन पाेखरा आएका रास्वपा कार्यकर्ताले सहकारी बचत पीडितहरुलाई भड्काउने गरी गतिविधि गरेकाे भन्दै सो कार्य तत्काल रोक्न माग गरेको छ ।

उनीहरुले पीडितहरुको घर÷घरमा पुगेर धम्काउने, थर्काउने, लखेट्ने र पिट्नेसमेत गरेको सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिका संयोजक किरण श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा ‘मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बचाउ अभियानमा उक्त पार्टीका नेता र कार्यकर्ताले पोखराको शान्त वातावरण नै बिथोल्ने गरी पीडित बचतकर्ताबिरुद्ध गरेको कार्यक्रम, नाराबाजी, भाषणका साथै टोलटोल र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने गरेको कामप्रति हामी घोर आपत्ति प्रकट गर्दछौँ, भनिएको छ।

सहकारी बचत पीडितहरुले सहकारीको बचत फिर्ता गर्ने र अनुसन्धानलाई नै प्रभावित गर्ने गरी पाेखरामा केही दिनदेखि भइरहेको रास्वपाको प्रदर्शन तत्काल रोक्न माग समेत गरेको छ ।

सहकारी बचत पीडितहरुले जनताको अर्बौं रुपैयाँ डुबेको गम्भीर विषयमा समेत रास्वपाले राजनीति गरेकाे भन्दै विज्ञप्तिमार्फ आपत्ति जनाएको छ ।

सामाजिक र आर्थिक विषयमा राजनीति हुनु दुःखद भएको जनाउँदै विज्ञप्तीमा भनिएको छ,‘विगत १० महिना अघि नै उहाँको पार्टी सभापतिविरुद्ध परेको किटानी जाहेरीको विषयमा के हेरिरहनु भयो ? किन कहिल्यै पीडित बचतकर्तासँग कुनै सर सल्लाह भएन ? त्यसैले अहिलेको यो प्रदर्शन र कार्यक्रमको कुनै औचित्य नभएको प्रस्ट छ ।’

सहकारी बचत पीडितहरुले रास्वपाले पाेखरा अाएर फैलाएको भ्रम चिर्न बिहीबार प्रदर्शन गर्ने जनाएको छ । पीडितहरुले बिहीबार ११ बजे पोखराको मुस्ताङचोकमा बचत फिर्ताको माग गर्दै बृहद प्रदर्शन गर्ने जनाएको समते जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्